तालाबन्दी प्रति गाउँपालिकाको ध्यानाकर्षण

  सिलिचुङ सम्बाददाता

पौवादुङ्मा गाउँपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन । तश्विर, सिलिचुङ

 

भोजपुर । गाउँपालिकाका जनप्रतिनिधीलाई कुनै जानकारी नै नदिई गाउँपालिकाको कार्यालयमा लगाईएको तालाबन्दीको विषयमा पौवादुङ्मा गाउँपालिकाको ध्यानाकर्षण भएको छ । गत भदौ ११ गते नेपाली कांग्रेस पौवादुङ्मा र सरोकारवाला निकायले लगाएको तालाबन्दीका विषयमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले ध्यानाकर्षण विज्ञप्ती जारी गरेको छ ।
गत जेठ ३० गते करारमार्फत लिईएको परिक्षाको नतिजा प्रकाशनमा ढिलाई गरेको र कोरियन भाषा प्रशिक्षण कक्षाका लागि छुट्याईएको साढे ५ लाख बजेट खारेज गर्न माग गर्दै उनीहरुले गाउँपालिकामा तालाबन्दी गरेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नभएकाबेला जानकारी विना नै प्रमुख प्रशासकिय अधिकृत सालिकराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै ताला लगाएका थिए । तालाबन्दी गरेको करिब एकघण्टा लगत्तै स्थानीय प्रहरी प्रशासनले ताला खोलेको थियो ।
गाउँपालिकाका जनप्रतिनिधीलाई जानकारी नै नदिई गाउँपालिकामा तालाबन्दी गर्नु गैरकानूनी, गैरराजनीतिक, गैरप्रशासकिय, गैरनैतिक आचारणविरुद्ध कार्य भएको समेत गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सामाजिक विकास समिति अन्र्तगत कोरियन भाषा प्रशिक्षण कार्यक्रम खारेजी वा फिर्ता गर्न माग गरिएकोमा उक्त कार्यक्रम कुनै नयाँ र नौलो नभएकाले आश्चर्य मान्नुमार्ने कुनै कारण नभएको गाउँपालिका प्रमुख किरण राईले बताए । गत असार ३१ गते सम्पन्न पाँचौ गाउँसभाबाट उक्त भाषा कक्षा प्रशिक्षण कार्यक्रम सर्वसम्मत निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कार्य व्यस्तता र प्राविधिक समस्याका कारण लिईएको प्राविधिक सेवा करार कर्मचारी नियुक्ति परिक्षाको नतिजा प्रकाशन गर्न नसकिएको बताईएको छ । दरबन्दी अनुसारको कर्मचारी अभाव झेलिरहेको गाउँपालिकामा हाल ३ जना प्राविधिकको भरमा दैनिक कार्य सम्पादन गरिँदै आएको छ । विज्ञापन अनुसारको कर्मचारी छनौटको नतिजा प्रकाशन वा स्थगन गर्ने बिषयमा हालै लोकसेवा आयोगले गरेको विज्ञापन र परिक्षाको नतिजाको आधारमा निर्णय गरिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार