भोजपुर । भोजपुर नगरपालिका १०, भैंसीपंखाको गजुरमुखी छेउको जंगलबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर विष्टको रिहाईको माग गर्दै विप्लव सगरमाथा व्यूरोले विज्ञप्ती जारी गरेको छ ।
आईतबार हतियारसहित पक्राउ परेका विष्टलाई तत्काल रिहाई गर्न माग गरिएको विज्ञप्तीमा उल्लेख छ । विप्लव सगरमाथा व्यूरोका संयोजक अनुभव क्रान्तिद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पक्राउ परेका विष्टलाई कामको शिलशिलामा निशस्त्र अवस्था हिँडीरहेका बेला हतियार बोकेको प्रपञ्च रची पक्राउ गरिएको उल्लेख छ ।
जारी विज्ञप्तीमा विष्टको रिहाई नगरिए संघर्षका कार्यक्रम अघि बढ्ने र त्यसको परिणामको जवाफदेही सरकार स्वयम् हुनुपर्ने बताईएको छ । यता जिल्ला प्रहरीले विष्टलाई २ थान ईटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाईल २ थान, १० राउण्ड गोली, १ थान ह्याण्ड ग्रिनेटको साथमा चन्दाको माग गरिएका पत्र र पार्टीका पर्चा बोकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।