असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने

काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्ने भएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताईन ।

देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उनको भनाइ थियो । मन्त्री मगरले भनिन्,“कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन् ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताए । आम जनताका बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्रकृतिक प्रकोपले पनि अभियानमा बाधा पु¥याएको उनले औँल्याए ।

सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो ।

अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ ।

देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं ।’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।

कति बने शौचालय ?

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन ग¥यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको भनाई छ ।

समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् ।

त्यस्तै प्रदेश नं। ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार