अस्पतालमा आराम गरिरहेका प्रधानमन्‍त्री ओलीलाई राधिकाले म्यूजिक सुनाउने !

 

काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब उनकी पत्‍नी राधिका शाक्यले म्यूजिक तथा किताब पढेर सुनाउने भएकी छन् । उपचारमा रहेका ओलीलाई तनावमुक्त राख्‍न चिकित्सकहरूले म्यूजिक तथा किताब पढेर सुनाउन सल्लाह दिएपछि यस्तो तयारी भएको हो ।
ओलीको उपचार टिमका संयोजक प्रा डा अरुण सायमीले लामो समय अस्पतालमा बस्दा एक्लोपन महसुस नहोस् र तनाव नहोस् भनेर यस्तो सल्लाह दिएको बताए । उनले अन्‍नपूर्ण पोष्ट अनलाइनसँग भने, ’अस्पतालमा बसिरहँदा दिक्‍क नलागोस् भनेर हामीले प्रधानमन्‍त्री पत्‍नीलाई यस्तो सल्लाह दिएका छौं ।’
त्यसैगरी प्रधानमन्‍त्री राखिएको कक्षमा समाचार अपडेटका लागि टिभी जडान गर्ने तयारी पनि भइरहेको छ । गत मंगलबार एपेन्डिसाइटिस शल्यक्रिया गरेपछि ओलीलाई आराम गर्न अस्पतालमै राखिएको छ । उनले सामान्य हिडडुल तथा कुराकानी गर्न थालेका छन् । उनलाई दाल तथा झोलिलो खानेकुरा खुवाइएको छ। उनको खानपान मिलाउन तथा हेरचाहका लागि पत्‍नी राधिका बुधबारदेखि अस्पतालमै रहेकी छिन् ।
चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एक हप्ता थप अस्पतालमै आराम गर्नुपर्ने सुझाव दिएका छन् । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो । रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन् ।
यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो। महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो ।
ब्याकअपका रुपमा राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएपछि ओलीलाई सघन कक्षमै राखिएको छ । बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थाले पनि उच्च चिकित्सकीय निगरानीमा राखिएको छ।संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा बाहिरी भेटघाट तत्कालका लागि रोकिएको छ ।
पेट दुस्खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ । उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन् ।
मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीले चारपटक हेमोडायलासिस गराएका छन् । उनले ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गराउँदै आएका छन्। चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुनस् मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिदै आएका छन् ।
अचानक असहज महसुस गरेपछि ग्रान्डीमा भर्ना गरिएका ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । कात्तिक १४ गते फेरि डायलायसिस गरिएको थियो ।
१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।
भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए । रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो । त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ’रेलन बायोप्सी’ गरिएको थियो ।
(अन्नपूर्ण पोष्ट अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार