कोरोना भाइरसले बेलायतमा नेपाली त्रसित

कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ ।

बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्तरी आयरल्याण्डमा ७ र वेल्समा २ जना संक्रमित भएका हुन् । बेलायतमा हालसम्म २१ हजार ४ सय ६० जनाले कोरोना भाइरसको परीक्षण गराएका छन् । बेलायत सरकारले सम्भावित महामारी न्यूनीकरणका लागि तयारी तीव्र पारिएको जनाएको छ ।

सरकारले केही दिनअघि एउटा प्रमुख जनस्वास्थ्य अभियान शुरु गरेको छ जसमा सर्वसाधारणलाई कम्तीमा २० सेकेन्ड निरन्तर मिचेर हात धुन अपील गरिएको छ । पब्लिक हेल्थ इंग्ल्याण्डले साबुन र पानी नभए कम्तीमा ६० प्रतिशत अल्कोहल रहेको हयाण्ड सेनिटाइजर प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायात चढेपछि हात धुन विशेष महत्वपूर्ण हुने भएकाले यसमा चनाखो रहन पब्लिक हेल्थले अपील गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको सम्भाव्य जोखिमका लागि बेलायतले तयारी गरिरहेको बताएका छन् ।

प्रधानमन्त्रीले यही महामारीलाई लक्षित गर्दै आपतकालीन कानून सार्वजनिक गरेका छन् जसअनुसार कामदारहरुलाई बिरामी भएको चौथो दिनपछि मात्र तलव दिनुपर्ने कानूनी प्रावधान रहेकामा अब पहिलो दिनदेखि नै तलब दिनु पर्नेछ । कानून अनुसार, विरामी भएका कामदारलाई तिनका रोजगारदाताहरुले हप्तामा ४० पाउन्ड थप दिनु पर्नेछ ।

महामारीको डरले बेलायतीहरु सन्त्रासमा छन् । विशेषगरी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत थुप्रै नेपालीहरु अझ बढी त्रसित छन् ।

एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांकअनुसार मार्चसम्म इंग्ल्यान्डमा एनएचएस कार्यरत नेपालीको संख्या १ हजार ७ सय ६० छ । यसमा ब्रिटिस पासपोर्ट लिई काम गर्नेको संख्या भने उल्लेख गरिएको छैन । एनएचएसमा काम गर्ने नेपाली मूलका बेलायतीको संख्या अझ बढी रहेको अनुमान छ ।

लन्डनस्थित नेपाली दूतावासले मार्च अन्तिममा गर्न लागेको विकास सम्मेलन कोरोना भाइरसका कारण रद्द गर्नुपरेको जनाएको छ । होलीलगायत विभिन्न संघसंस्थाका सभा पनि रद्द गरिएका छन् ।

ब्रिटेनमा मास्क, हयाण्ड स्यानीटाइजर देखि ट्वाइलेट पेपर समेत अभाव शुरु भएको छ । आपतकालीन अवस्था आइपर्ने त्रासले मानिसहरुले ओभर स्टक गरिदिँदा ती सामान अभाव देखिएको हो । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर करिब एकलाख जना संक्रमित भएका छन् भने ३ हजार ४ सय बढीको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार