अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

वासिङ्टन/तेहरान, १४ असार ।

मध्यपूर्वको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणका कारण संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव फेरि एकदा खतरनाक मोडमा पुगेको छ। शनिबार राति अमेरिकी सेनाले इरानी भूमिभित्र छिरेर ‘केही संवेदनशील स्थान’ मा नयाँ हवाई आक्रमण गरेपछि दुई देशबिच युद्धको खतरा बढेको हो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यो कारबाही स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको अन्तर्राष्ट्रिय तेल ट्याङ्करमाथि इरानले गरेको ड्रोन आक्रमणको प्रत्यक्ष जवाफ हो।

तेल ट्याङ्कर ‘किकु’ माथि आक्रमण भएपछि अमेरिकाको एक्सन

सेन्टकमका अनुसार शनिबार इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डावाला तेल ट्याङ्कर ‘किकु’ माथि ड्रोनमार्फत आत्मघाती आक्रमण गरेको थियो। व्यावसायिक ढुवानीविरुद्ध इरानको यही निरन्तर आक्रामकताको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले रातको समयमा अपरेशन चलाएका थिए।

अमेरिकाले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गर्दै इरानका १० वटा सैन्य लक्ष्यहरूमा बमबारी गरिएको पुष्टि गरेको छ।

अमेरिकी आक्रमणको निशानामा परेका इरानी सैन्य संरचनाहरू:

  • इरानको अत्याधुनिक निगरानी पूर्वाधार र सञ्चार प्रणाली।

  • हवाई प्रतिरक्षा स्थलहरू (Air Defense Sites)।

  • ड्रोन भण्डारण सुविधा र सैन्य ब्यारेकहरू।

  • समुद्रमा विस्फोटक पदार्थ (Sea Mines) बिछ्याउने इरानी क्षमता।

इरानी सञ्चार माध्यमहरूका अनुसार दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा अमेरिकी मिसाइल खस्दा ठूला विस्फोटहरू भएका छन्। यसअघि शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको थियो।

बदलामा इरानको काउन्टर अट्याक: कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डामा प्रहार

अमेरिकी आक्रमणको केही घण्टामै इरानको शक्तिशाली सैन्य सङ्गठन इस्लामिक रिभोल्युसनरी गार्ड्स (IRGC) ले आइतबार कडा प्रतिवाद गरेको छ। इरानले अमेरिकी भूमिमा नभई छिमेकी देश कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।

गाड्र्सले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार आफ्ना एजेन्टहरूले कुवेतको अलि अल–सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेनाको प्रख्यात फिफ्थ फ्लिट (Fifth Fleet) अन्तर्गतका ८ वटा महत्त्वपूर्ण सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थ र मिसाइलले प्रहार गरेका छन्।

“अब थप आक्रमण भए चकनाचुर पारिदिनेछौँ” – इरानको चेतावनी

आफ्नो भूमिमाथि भएको हमलाको बदला लिएको दाबी गर्दै इरानी गार्ड्सले अमेरिकासहित उसका सहयोगी राष्ट्रहरूलाई कडा शब्दमा चेतावनी दिएको छ।

इस्लामिक रिभोल्युसनरी गार्ड्सको विज्ञप्ति:

“कुनै पनि शत्रुको आक्रमण, जुनसुकै बहानामा भए पनि वा नगण्य लक्ष्यमा मात्रै भए पनि… त्यसको बदलामा शत्रुलाई चकनाचुर पार्ने गरी जवाफ दिइनेछ। अमेरिकाले थप आक्रामकता देखाए त्यसको परिणाम अझ भयानक हुनेछ।”

स्ट्रेट अफ हर्मुज संसारकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ। यस क्षेत्रमा अमेरिका र इरान आमनेसामने भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने र विश्व अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भूराजनीतिक विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार