एक सय गर्भवति तथा सुत्केरीकाे उद्दार

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक सय गर्भवति तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेकाे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अञ्जु ढुंगानाका अनुसार मन्त्रालयले दुर्गम ठाउँका, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पु¥याउन २०७५ पुस ६ गतेबाट हवाई उद्धार शुरु गरेको थियो । त्यसयता २५ जिल्लाका एक सय गर्भवती तथा सुत्केरीको उद्धार गरिसकिएको छ ।

२० भन्दा कम उमेरका २० जना, २१ देखि ३५ बर्षका ७० जना र ३६ बर्षमाथिका १० जना छन् । जसमध्ये सबैभन्दा बढि डोल्पाबाट १४ जनाको उद्धार भएको छ । लकडाउन अवधिमा १० जनाकाे उद्दार भएकाे छ ।

ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरीले सेवा लिनका लागि मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम इकाइको हटलाइन फोन नम्बर ९८५१२५५२५४ मा जो सुकैले खबर गर्न हुन्छ । खबर पाइसकेपछि त्यस इकाइले त्यो खबर सही हो कि होइन भनी जाँच्न सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्छ । खबर सही रहेछ भने इकाइले गृह मन्त्रालयलाई खबर गर्छ । गृहले अवस्था हेरी हवाइजहाज वा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्छ ।

उद्धार गरिएकी महिलाका आफन्तले नागरिकताको प्रतिलिपि, गाउँपालिका/नगरपालिकाको हवाई उद्धार समन्वय समितिले बनाइदिएको कागज र स्थानीय स्वास्थ्य संस्थाले उपचारका लागि अन्यत्र लानु पर्ने भनेर लेखिदिएको कागज बुझाउनुपर्छ । जोखिममा परेका गर्भवति तथा सुत्केरी भन्नाले लामो समय व्यथा लागेको, बच्चा जन्मन कठिन भएको, बच्चा गर्भमै मरेको, गर्भवतीको शरीर सुन्निएको, रगत धेरै बगेको भन्ने बुझाउँने प्रमुख ढुंगानाले बताइन् ।

सुत्केरी र गर्भवतीको उद्धारका लागि सरकारले वर्षेनी ५ करोड रुपैयाँ छुट्याउने गरेको छ । गत वर्ष र यस वर्ष फागुनसम्म उद्धार गर्दा १ करोड २४ लाख भुक्तानी भैसकेको छ ।

हवाई उद्धार गरिने ठाउँ
दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, सल्यान, रसुवा, रुकुम पूर्व र रुकुम पश्चिम ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका धादिङको रुबी भ्याली गाउँपालिका, गोरखाको सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुबी गाउँपालिका, बाग्लुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, बडिघाट नगरपालिका, निसिखोला गाउँपालिका, बेरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, काँठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमुनी नगरपालिका

हेलिकप्टरले उद्धार गरेका बिरामी पठाइने अस्पताल

प्रदेश १ – कोसी अस्पताल, विराटनगर
प्रदेश २ – गजेन्द्र नारायण सिंह अस्पताल (सगरमाथा अञ्चल अस्पताल), राजविराज
जनकपुर प्रादेशिक अस्पताल, जनकपुर
नारायणी अस्पताल, वीरगञ्ज
प्रदेश ३ – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौँ
भरतपुर अस्पताल, भरतपुर
गण्डकी प्रदेश पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
प्रदेश ५ लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीको बुटवल
राप्ती उपक्षेत्रीय अस्पताल, दाङको घोराही
भेरी प्रादेशिक अस्पताल, नेपालगञ्ज
कर्णाली प्रदेश – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
कर्णाली प्रादेशिक अस्पताल (मध्यपश्चिम क्षेत्रीय अस्पताल), सुर्खेत
सुदूरपश्चिम सेती प्रादेशिक अस्पताल, धनगढी ।

यी अस्पतालमा ४२ दिनसम्मका सुत्केरी र २८ दिनसम्मका नवजात शिशुको निःशुल्क उपचार हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार