विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
राईलाई १३ वैशाखमा र आलमलाई १४ वैशाखमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको पछिल्लोपटक गरिएको स्वाब परीक्षण नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।
उनका अनुसार दुवैजनालाई जनप्रतिनिधिको समन्वयमा आफ्नै घरको क्वारेन्टाइनमा बस्ने गरी अस्पतालले डिस्चार्ज दिएको छ ।
साउदी अरबबाट फर्किएको ४१ दिनपछि भोजपुरका राईमा कोरोना संक्रमण देखिएको थियो ।
विराटनगरको कोसी कोभिड– १९ उपचार केन्द्रमा १९ जना संक्रमित उपचार गराइरहेका छन् भने निको भएर डिस्चार्ज हुने संक्रमितको सख्या १६ पुगेको छ । पहिलोपटक भारतीय संक्रमितहरू ६ जना, दोस्रोपटक सातजना नेपाली र एकजना भारतीयसहित आठजना र तेस्रोपटक दुईजना नेपाली निको भएर कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन् ।