लकडाउनले बारीमा कुहिन थाले तरकारी

  सिलिचुङ सम्बाददाता

लकडाउनका कारण तरकारी नबिकेपछि नटिपिएका बारीका बन्दा । तश्विर

 

भोजपुर । भोजपुर नगरपालिका ५, बोखिम दाम्सिङकी पशुपती राई हरेक हप्ता सागसब्जी, तरकारी लिएर भोजपुर हटिया धाउँछिन् । तर कोरोना संक्रमणको त्रासले लगाईएको लकडाउनले हटियाहरु बन्द भएपछि उनलाई पर्नु पिर प¥यो । बारी लगाईएका तरकारीहरु कुहिन थालेका छन् । तरकारी नबिकेपछि घरगर्जो कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको उनी सुनाउँछिन् ।
‘जताततै बजार बन्द छ, बेच्ने अरु ठाउँ पनि छैन, बारीका तरकारी बस्तुभाउलाई खुवाउने खोले भएको छ’ उनले भनिन्, ‘नुनभुटुनका लागि तरकारीले राम्रै धान्थ्यो, तर हटिया नै नलागेपछि तरकारी त्यसै कुहाएर फ्याँक्नु परेको छ’
कोराना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनका कारण उत्पादित तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित छन् । ढुवानी गर्ने साधन र हाटबजारहरु बन्द भएपछि व्यावसायिक तरकारी खेती गर्ने किसानहरु मारमा परेका हुन् । उत्पादित वस्तुलाई बजारसम्म पु¥याउने माध्यम नहुँदा किसानलाई घरगर्जो टानै समस्या भएको छ ।
लकडाउनले बजार बन्द भएपछि काउली, बन्दा, आलु, साग, टमाटर लगायतका तरकारीबालीहरु बारीमै कुहिन थालेको छ । ढुवानी गर्ने साधन पनि ठप्प बनेपछि तरकारीलाई व्यवस्थापन गर्न समस्या भएको अर्का स्थानीय किसान गणेश राईले सुनाए । उनले लकडाउन सुरु भएपछि व्यावसायिक कृषिमा लागेका कृषकको घरगर्जो धान्न समस्या उत्पन्न भएको बताए । व्यावसायिक रूपमा लगाएको तरकारीबाली सदरमुकामसम्म लैजान नपाउँदा कुहिन थालेको उनले बताए ।
खेतीपातीको सिजनमा लकडाउन भएपछि कामदार, विउविजन ल्याउन नसकिएको बोखिम हावीराङका फविन्द्र प्रधान सुनाउँछन् । लकडाउनको अवधि यथावत रहे भोकमरी सिर्जना हुन सक्ने उनी बताउँछन् । भन्छन्, ‘संक्रमणकालिन अवस्था छ, यदि कृषि उपजमा पनि लकडाउनको असर परिरहने हो भने भोली भोकमरी नआउला भन्न सकिन्न’
आम्दानीको मुख्य श्रोत नै तरकारी खेती गर्ने किसानलाई सरकारको लकडाउन काउसो बनेको छ । छिटफुट रुपमा विक्रि भएपनि सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको किसानहरु सुनाउँछन् । साप्ताहिक रुपमा हाट लाग्ने सदरमुकाममा सातदेखि नौ मेट्रिक टनसम्म तरकारी खपत हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्याङ्क छ ।
तर उत्पादन धेरै भएपनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरु समस्यामा परेको कृषि ज्ञान केन्द्र भोजपुर प्रमुख योगेन्द्र प्रसाद यादवले बताए । लकडाउनमा स्थानीय कृषि उपजको अवस्थाबारे संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बेखबर रहेको उनले सुझाए । उनीहरुले किसानको अवस्थाबारे जानकारी मात्र लिन सकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार