
भोजपुर । किँरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ । लकडाउनको बेला शहरबजार बन्द रहेपनि ग्रामीण भेगमा भने उभौँलीको रौनक बढेको छ । सदरमुकाम आसपासका बजार क्षेत्रमा ठप्प गरिएको साकेला गाउँमा भने विशेष तामझामका साथ सुरु भएको छ ।
जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढेको छ
बेँशीमा बालीनाली लगाई ‘उभोँ अर्थात उकालो निस्कने पुर्खाहरुको सम्झनामा भूमिपूजक किँरात राई समुदायले बैशाख पूर्णिमादेखि एक महिनासम्म उभौँली मान्ने गर्छन् । किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरका मुख्य शहरीक्षेत्रबाहेक ग्रामीण भेगमा उभौँली पर्व धुमधामले सुरु भएको छ । उभौँलीमा ईष्टदेवता सुम्दिमा पारुहाङलाई पुज्दै कुखुराको बली दिएर माङ् (पितृपूजा) गर्न अनिवार्य रहेको नाक्छुङ (धामी) रामबल राईले बताए । ‘बसन्त लागेसंगै कुलपितृलाई बुझाउनै पर्छ, पूजा गर्छौ’ उनले भने ।
लकडाउनले सदाजस्तो शहरबजारको भिडभाडमा धुमधामका साथ साकेला नाच्न प्रतिबन्ध लगाईएको छ । तर जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढेको छ । लकडाउनको सतर्कता अपनाउदै योवर्षको उभौँली गाउँमै मनाईने भोजपुर नगरपालिका बोखिमका टिकाराम राईले बताए ।
‘लकडाउनले शहरबजारमा ठुलो साकेला नभएनि गाउँमा कुलपूजा गर्दै नाचिन्छ, जातिय संस्कृतिलाई जोगाईराख्ने हाम्रो मान्यता हो’ उनले भने । उभौँलीमा किराँत राईहरु आफ्ना पूर्खाले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रुपमा ग्रहण गर्ने परम्परागत चलन रहेको किँरात संस्कृतविद् कमलजंग राईले बताए ।
किँरात राई यायोख्खा केन्द्रिय समितिले पनि कोरोना संक्रमणबाट सावधानी अपनाउँदै विशेष कुलपुजा र सिमीत व्यक्तिहरुविच उपस्थिती रहन सूचित गराएको थियो । केन्द्रको परिपत्र अनुरुप नै जिल्लाभित्रका भोजपुर सदरमुकाम, घोरेटार, चम्पे, दिङला लगायत मुख्य बजारक्षेत्रमा योवर्ष साकेला नाचलाई स्थगित गरिएको किँरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताईन् । भनिन्, ‘केन्द्रको परिपत्र अनुसार नै विशेष पूजा र सिमित व्यक्तिहरुको उपस्थितीबाहेक सार्वजनिक रुपमा भिडभाड हुने किसीमको साकेला स्थगित गरेका छौँ’