भोजपुर । नृत्य कलाकार संघ, प्रदेश १ र भोजपुर नृत्य कलाकार संघले ५५ परिवारलाई राहत वितरण गरेको छ । दैनिक मजदुरीले घरगर्जो चलाउने पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे चाम्ताङका ती परिवारलाई राहत सहयोग गरिएको हो ।
लकडाउनका कारण खाद्यान्न अभाव संकट टाल्न २५ हजार बराबरको खाद्य सामग्री वितरण गरिएको भोजपुर नृत्य कलाकार संघका अध्यक्ष सुसन घिमिरेले बताए । राहत वितरण कार्यक्रमलाई आवश्यकताका आधारमा प्रदेश नं १ का नृत्यकर्मीहरु समक्ष पनि पुर्याउने उनले बताए ।
यीबाहेक आउने दिनमा विभिन्न ग्रामिण भेगका एक सय ४५ परिवारलाई पनि राहत वितरण गर्ने तयारी गरिएको कलाकार संघका प्रदेश १का अध्यक्ष सुनिल थापाले जानकारी गराए । राहत वितरणमा डा. कैलाश विश्वकर्मा, इन्जिनियर सन्जय बयलकोटी, आङदावा शेर्पा तथा यातायात ढुवानी संघको सहयोग र कलाकार देवराज गजमेर, भोजपुर नृत्यकलाकार संघको सक्रियतामा राहत वितरण गरिएको थियो ।