फौजीकिराको प्रकोपले बाली नष्ट पारेपछि भोजपुरका किसान चिन्तीत

  सिलिचुङ सम्बाददाता

अमेरिकन फौजीकिराले सखाप पारेको मकै । तश्विर

 

भोजपुर । मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै पुरै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्नको अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधी लिन समेत समस्या भएपछि किसान झन थलिएका हुन् ।

गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तीत बनाएको हो

बैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले करिब ८ सय ९५ हेक्टरमा लगाएको मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तीत बनाएको हो । किराले गुबो खाएपछि मकै नफस्टाएको भोजपुर नगरपालिका १२, टक्सारकी शान्ति कार्कीले सुनाईन् । ‘एउटै मकैको बोटमा ७ वटासम्म किरा भेटिन्छ, किराले बोटै छिद्राछिद्रा बनाएर खाएपछि मकै सुकेर खेर जान थालेका छन्’ उनले भनिन्, ‘अरु अन्नबालीमा पनि यसको प्रकोप देखियो भने कसरी जिविका चलाउने होला’
कृषि ज्ञान केन्द्र भोजपुरको तथ्याङ्क अनुसार सबैभन्दा बढि हतुवागढी गाउँपालिकाको झण्डै ५ सय रोपनीमा लगाएको मकै नष्ट गरेको छ । त्यस्तै आमचोक गाउँपालिकाको करिब ७५ हेक्टर, पौवादुङमा गाउँपालिकाको ७५ हेक्टर, अरुण गाउँपालिकाको एकसय हेक्टर र टेम्केमैयुङ गाउँपालिकाको ३० हेक्टर, रामप्रसादराई गाउँपालिकाको २० हेक्टर, साल्पासिलिछो गाउँपालिकाको १० हेक्टर, भोजपर नगरपालिकाको ४० हेक्टर र षडानन्द नगरपालिकाको ४५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबालीमा प्रकोप देखिएको छ ।
१८ रोपनीमा लगाएको मकैमा किराले नष्ट गरेपछि चिन्तित तुल्याएको भोजपुर नगरपालिका १२, टक्सारका कृषक गोविन्द बहादुर खत्रीले बताए । किराले मकैको बोट सुक्न थालेपछि लकडाउनको बेला खाद्यान्नको श्रोत नै गुम्ने अवस्थामा पुगेको उनले दुखेसो गरे । गतवर्ष झैँ बारीमा लगाएको मकै अमेरिकन फौजी किराले नष्ट गर्न सुरु गरेपछि कृषकहरू मारमा परेका हुन । ’लकडाउनको समयमा जोगिएर खेती गरियो, तर बाली नै नष्ट हुन थालेपछि यसपालीको अन्न कसरी धान्ने होला’ कृषक रामचन्द्र थापाले बताए ।
दोहो¥याएको बर्खेमकैमा फौजीकिराले पातै नआउनेगरि मकैको गुबो सखाप बनाएपछि मकै भित्राउने आशा मरेको अरुण गाउँपालिका २, चम्पे सोरेङका किसान अर्जुनकुमार राईले गुनासो गरे । भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकिने भयो, पोहोरसाल पनि फौजी किराले मकै टिक्नै दिएन । यो लकडाउनमा जिविका चलाउनै गाह्रो छ, बस्तुभाउलाई के दिने हो थाहा छैन’
लकडाउनका कारण संक्रमण निरिक्षण गर्न कृषि प्राविधिकलाई पनि फिल्डमा पठाउन समस्या भएको केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले बताए । महामारीको जोखिममा औषधी, प्राविधिक ज्ञान र नियन्त्रणका उपाय खोज्नै कठिनाई भएको उनले बताए । उनका अनुसार प्रभावित कृषकहरुलाई कृषिज्ञान केन्द्र र जिल्लाका ९ वटै स्थानीय तहले किटनाशक औषधी खरिद गरी वितरण गर्न सुरु गरेका छन् ।
फौजी कीराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको १, याङपाङले ६ सय १० कृषकलाई फौजी कीरा मार्न औषधि वितरण गरेको छ । किराको प्रकोप नहटेपछि वडाले रोकथामका लागि खरिद गरेरै किसानलाई किटनाशक औषधी दिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार