मल कालोबजारी गर्नेमाथि छानविन गर्न समितिकै ढिलाई

  सिलिचुङ सम्बाददाता

सिल गरिएको अनुदानको रासायनिक मल । तश्विर, सिलिचुङ

 

भोजपुर । छानविन समितिले नै आनाकानी गरेपछि कृषि अनुदान मलमा कालोबजारी गर्ने दोषीमाथि छानविन हुन सकेको छैन । अरुण गाँउपालिकाको जरायोटार भर्लाबोटस्थित अनुदानमा ल्याईएको कृषि मलमा कालोबजारी गर्नेमाथि समितिबाटै ढिलाई भएपछि छानविन हुन नसकेको हो ।

अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्सले अनाधिकृत रुपमा व्यापारीलाई तोकेको भन्दो तेब्बर बढि मूल्यमा बेचेको खुलासा

समितिले समयमै प्रतिवेदन नबुझाउदा दोषीमाथि कारबाही गर्न ढिलाई भएको हो । श्रोतका अनुसार पौवादुङमा गाउँपालिकाको अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्स तिवारीभञ्ज्याङका सञ्चालक कृष्ण कोईरालाबाट अनाधिकृत रुपमै स्थानीय व्यापारी भद्रमान भुजेलले मल किनेर विक्रि भईरहेको खुलेको छ । व्यापारी भुजेलले ठेकदार कोईरालामार्फत अनुदानको एकसय बोरा मलमध्ये ५३ बोरा युरिया मल विक्रि गरेको स्विकारे ।
यता समितिले प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ । समितिका सदस्य अनिष सुवेदीले सबै तथ्याङ्कहरु समेटिएको र बुझाउन मात्र बाँकी रहेको बताए । सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गरी प्रतिवेदन पेश गर्न लागिएको उनले बताए । यता प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले पनि छानविन समितिलाई यथासिघ्र प्रतिवेदन बुझाउन भनिएपनि बुझाउन ढिलाई भएको स्विकारेका छन् । भने, ‘मैले चाँडोभन्दा चाँडो रिपोर्ट पेश गर्न भनेको थिएँ, तर अहिलेसम्म आएको छैन’
अनाधिकृत रुपमा एउटा गाउँपालिकाको अनुदानको मल अर्को गाउँपालिकामा कालोबजारी गर्नाले अन्य आधिकारीक सप्लायर्सलाई मल ढुवानीमा समस्या भएको छ । अरुण गाउँपालिकाले गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपि सप्लार्यसलाई ठेक्का दिएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गरीने प्रावधान बनाएको छ । लकडाउनको बेला अनुदानको मलमा कालोबजारी हुँदा खरिद र ढुवानी गर्ने आधिकारीक सप्लायर्सलाई समेत अप्ठ्यारोमा पारेको उक्त एचपी सप्लायर्सका प्रोपाईटर निर्मला शेर्पाको गुनासो छ ।
सप्लायर्सका सञ्चालक कोईरालाले भने कृषि सामाग्री केन्द्रको मल नभई विभिन्न सहकारीमार्फत संकलन गरेको मल विक्रि गरेको बताए । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल स्थानीय व्यापारीमार्फत २ हजार रुपैँयामा बेचिरहेको पाईएपछि जिल्ला प्रशासनले मल सिल गरेको थियो । जिल्ला प्रशासनले सिल गरेको मल प्याउली प्रहरी चौकीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार