नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो । यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो । त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।

 

मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अघि भनेका छन्, ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११/११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीका ८, डोटीका ७, मोरङ र डडेलधुराका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

 

रुकुम पश्चिम, नवलपुर र सल्यानका ५/५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३/३ जना, तनहुँ, पाल्पा र बर्दियाका २/२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

मन्त्रालयका अनुसार अहिले महोत्तरी, रौतहट, पाल्पा, अछाम, वैतडी र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् ।

चार जिल्ला कोरोना फ्रि

 

चार वटा जिल्ला कोरोना फ्रि भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन् ।

 

उनका अनुसार नेपालमा निको हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ ।

 

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ४६.३ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार