बसपार्कको सञ्चालनमा नआउँदा दुरुपयोग बढ्यो

  सिलिचुङ सम्बाददाता

अव्यवस्थित बनेको भोजपुर बसपार्क । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । ढलान गरिएको कम्पाउण्डमा बालुवा र ढुंगाको थुप्रो । व्यक्तिगत प्रयोजनका लागि राखिएका फलामे रडका चाङ । यत्रतत्र छरिएका निर्माण कम्पनीका सामानहरु । लाखौँको लगानीमा बनेको एकमात्र भोजपुर बसपार्कको यो पछिल्लो अवस्था हो । स्थानीय सरकारले चासो नदिँदा उक्त बसपार्क अहिले व्यक्तिगत र कम्पनीका निर्माण सामाग्री थन्क्याउने थलो बनेको छ । भोजपुर नगरपालिकाले समयमै बसपार्क सञ्चालनमा नल्याउँदा यो हविगत बनेको हो ।

बसपार्क व्यवस्थापनमा नगरपालिकाले वेवास्ता गरेपछि दुरुपयोग बढेको छ

‘लामो समय भईसक्यो, अझै बस राख्न सकेका छैनन्, बरु बसपार्कमा व्यक्ति र निर्माण कम्पनीका सामानहरु राख्ने ठाउँ भएको छ’ स्थानीय कुमार भण्डारीले भने, ‘नगरपालिकाले ध्यान नदिँदा भएका संरचना पनि विग्रदो अवस्थामा छ, केहि वर्षअघि मात्र बनाएका चर्पीहरु कामै नलाग्ने भएका छन्’ बसपार्क व्यवस्थापनका लागि वर्षेनी लाखौँ बजेट लगानी गरिएपनि बसपार्क सञ्चालनमा नल्याउँदा अव्यवस्थित बनेको हो ।

भोजपुर नगरपालिका ७, कोदारस्थित नगरपालिकाको मातहतमा करिब ५ वर्षअघि बनेको बसपार्क अव्यवस्थित बनेको छ । बसपार्क व्यवस्थापनमा नगरपालिकाले वेवास्ता गरेपछि दुरुपयोग बढेको स्थानीय युवा अगुवा प्रकाशसिं राईको गुनासो छ । उनले भने, ‘बसपार्क व्यवस्थापनका लागि नगरपालिकाले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ, नगरपालिकाले निर्माण गर्ने उपभोक्ता समितिलाई काम लगाउनुपर्ने हो, तर छैन, जसले यहाँका उपभोक्ताहरु मारमा परेका छन्’
बसपार्क सञ्चालनमा नआउँदा हाल भोजपुर नगरपालिका ७, हटियालाईनस्थित निजी जग्गामै बसपार्क सञ्चालनमा छ । सो बसपार्क व्यवस्थापनका लागि जग्गा खरिदबाहेक करिब ८५ लाख बराबरको लगानी भईसकेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले पनि गतवर्ष सो बसपार्क स्तरोन्नतीका लागि २० बजेट छुट्याएको थियो । नगरपालिकाले समयमै बसपार्क व्यवस्थापन नगर्दा व्यावसायी र यात्रु दुवै सास्ती पुग्ने गरेको बस व्यावसायी दुर्गाबहादुर श्रेष्ठ बताउँछन् । ‘नगरपालिकाले अनुमति दिए र केहि पूर्वाधार तयार गरिदिए हामी र यात्रुलाई पनि सहज हुनेथ्यो, सवारीसाधन र यात्रुको सुरक्षा हुनेथ्यो, निजी जग्गामा तिरिने भाडाबाट छुटकारा पाईन्थ्यो’ उनले भने ।
यता नगरपालिकाले बसपार्क चाँडै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको छ । बसपार्कको सम्पूर्ण पूर्वाधार निर्माण अन्तिम चरणमा पुगिसकेकाले बसपार्कलाई व्यवस्थित गरिने नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताए । भने, ‘हामीले बस व्यावसायी संघसंग पनि कुरा गरेका छौँ, निर्माणका काम भईरहेको छ, सम्भवत यो लकडाउन लगत्तै सञ्चालनमा आउनेछ’
बर्सेनी बसपार्क व्यवस्थापनको नाममा लाखौँको बजेट छुट्याउँदा पनि समयमै सञ्चालनमा आउन नसक्नु मातहतका स्थानीय सरकारकै कमजोरी रहेको स्थानीय सरोकारवालाको टिप्पणी छ । स्थानीय विवेक राईका अनुसार सम्बन्धित निकायले समयमै बसपार्क सञ्चालनमा ल्याउन ताकेता गरेपनि नगरपालिकाले कुनै विकल्प नसुझाउँदा बसपार्क अव्यवस्थित बनेको हो । व्यावसायीलाई निजी जग्गाको भाडा तिर्नुपर्ने, यात्रु र सवारीसाधन दुवैको असुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले पहल बढाउनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार