भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौँको सामान अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौँको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन ।
तात्कालिन समयमा उपकरण जडानका लागि भारतबाट ल्याईएका कामदारले सोलारसेट मात्रै जडान गरेर हिँडेपछि काम सम्पन्न हुन नसकेको हो
टावर सञ्चालनमा नआउँदा स्थानीयबासिन्दा सुचनाको पहुँचबाट बञ्चित छन् । कम्पनीले करोडौँको सामान ल्याएर जडान नगर्दा सिंगो पौवादुङमा गाउँपालिकाबासी र आसपासका अन्य क्षेत्र सुचना र सञ्चार सेवाबाट प्रभावित बनेका हुन् । ‘टेलिकमको टावरको सामान वर्षौदेखि त्यतिक्कै छ, गाउँमा नेटवर्क नै टिप्दैन, टेलिफोन गर्न डाँडातिर जानुपर्छ’ स्थानीय राम मगरले भने ।
टेलिकमको टावर राख्ने कुरामा ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले कुनै चासो लिएको छैन । तात्कालिन समयमा उपकरण जडानका लागि भारतबाट ल्याईएका कामदारले सोलारसेट मात्रै जडान गरेर हिँडेपछि काम सम्पन्न हुन नसकेको नेपाल टेलिकमका केन्द्रिय प्रबन्धक सुजितानन्द मल्लले बताए । उनका अनुसार ठेकदार कम्पनीले भारतबाट दक्ष कामदारलाई ल्याएर बस्ने, खाने राम्रो प्रबन्ध उपलब्ध भएमात्र काम अघि बढाउने तयारी गरेको बुझिएको छ । कम्पनीले कोभिड १९ का कारण काम गर्न नसकिएको उनले बताए ।
यता नेपाल टेलिकम भोजपुर शाखाले भने उक्त टावर निर्माणसम्बन्धि बेखबर रहेको बताएको छ । जिल्लामा सञ्चालित सबै सेवा सञ्चारमा टेलिकमले निगरानी र प्राविधिक सहयोग गरेपनि उक्त टावर अलपत्र रहेकोमा कुनै जानकार नभएको नेपाल टेलिकम भोजपुर शाखा प्रमुख रामसेवक यादवले बताए । उनले कम्पनीले काममा ढिलाई गरेको पनि जानकारीमा नआएको बताए ।
सम्बन्धित ठेकेदार कम्पनीले टावर सुचारु गरिदिए सञ्चार सेवाबाट लाभान्वित हुनेमा गाउँबासी आशावादी देखिन्छन् । सेवा सुचारु गरिए नेटवर्कको पहुँचबाट सहजता पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनले टावरका सम्पूर्ण काम सम्पन्न गर्न सम्बन्धित कम्पनीसंग पहल भईरहेको बताए । जिल्लामा अहिले १९ वटा नेपाल टेलिकमको टावर सञ्चालनमा छन् । ७ वटा टावर विविध प्राविधिक समस्याले सञ्चालनमा आउने नसकेको टेलिकमले जनाएको छ ।