भोजपुर । लकडाउन खुकुलो भएपनि कोभिड १९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।
प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको प्रहरी निरिक्षक प्रदिप लामाले बताए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ । सदरमुकाम लगायत मुख्य सडकखण्ड र बजार क्षेत्रहरुमा सर्वसाधारणको भिड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, सुआहारा र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान परिचालन गरेको हो । यसअघि भोजपुरमा गत वैशाख ११ गते हतुवागढी गाउँपालिका १ र गत जेठ २२ गते षडानन्द नगरपालिकाका ५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।