
भोजपुर । बर्षातले फल लाग्न नपाउँदै रुद्राक्षका दाना बोटमै कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षको सबै फूल झारेपछि खेती नफस्टाउने चिन्ताले योवर्ष किसानलाई निराश बनाएको छ ।
चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिल्लो समय विषादीका कारण पनि नफस्टाएको किसानहरुको बुझाई छ
मूख्य आम्दानीको श्रोत रहेको रुद्राक्ष खेती अविरल वर्षातले क्षति पु¥याएपछि उत्पादनमा ७५ प्रतिशत बढि ह्रास आएको किसानहरु सुनाउँछन् । मुख्य खेतीको रुपमा रहेको रुद्राक्ष बगानमा अत्याधिक बर्षातकै कारण रुद्राक्ष दाना बोटमै कुहिन थालेको षडानन्द नगरपालिका दिङलाका केवल शाहीले सुनाए । ‘भारी बर्षातले फुल बस्नै दिएन, यसपाली रुद्राक्ष फल्छ भन्ने आश म¥यो’ उनले भने, ‘यसपाली अन्य खेती लगाईएन, कोरोनाले व्यापार पनि खस्कियो, घर चलाउनै गाह्रो हुने भो’
चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिल्लो समय विषादीका कारण पनि नफस्टाएको किसानहरुको बुझाई छ । क्रेताको माग अनुसारको रुद्राक्ष उत्पादनमा विषादी हालेपनि विषादीले राम्रो उत्पादन दिनुको सट्टा उल्टै दाना कुहिने, नअडिने, सुक्ने जस्ता समस्या आएको अर्का रुद्राक्ष कृषक बालकृष्ण बस्नेतले बताए । भने, ‘पोहोर जस्तो योवर्ष दानाको फुल अडिएन, मैलै दाना राम्रो हुन्छ भनेर औषधीसम्म लगाए, तर उल्टै कुहियो’ निरन्तर बर्षात र गुणस्तर बृद्धि गर्ने मापदण्ड विपरीतका विषादी प्रयोगले रुद्राक्षको फल लाग्ने बेला फुलमै दाना कुहिएर झरेको विज्ञहरु बताउँछन् ।
एकातिर दाना नसप्रिनु अर्कोतिर गतसालको रुद्राक्ष पनि नबिक्दा किसानलाई झन चिन्ता थपिदिएको छ । कोरोना महामारीका कारण चिन र भारतका व्यापारीहरु नआउँदा रुद्राक्ष थन्क्याएर राख्नुपरेको रुद्राक्ष व्यावसायी संघका केन्द्रिय उपाध्यक्ष उत्तम कटवालले बताए । व्यापारी नआएपछि व्यापारमा ठुलो घाटा लागेको उनले बताए ।