बेलायतमा कोरोनाका मृतक बढ्दै, ६ जना बढी जमघट गरे ३२ सय जरिबाना

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । पछिल्ला दुई दिनमा संक्रमितको संख्या मे २२ यताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । शनिबारको तथ्याँक अनुसार संक्रमित हुनेको संख्या २ हजार ९ सय ८८ पुगेको थियो ।

 

यसैगरी मृत्युदर पनि केहिदिन यताको तुलनामा मंगलबार दश गुणाले वृद्धि भएको छ । युरोपमा कोरोनाको संक्रमण  बढ्न थालेसंगै बेलायतमा पनि कोरोनाको दोस्रो लहर आउन सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसघि नै चेतावनी दिएका थिए । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पनि कोरोना संक्रमित र मृतक संख्यामा भएको वृद्धिले दोस्रो लहरको संकेतको चेतावनी दिएका छन् ।

 

पछिल्लो समयमा कोरोना संक्रमणको अप्रत्यासित वृद्धि भएपछि  संक्रमणलाई नियन्त्रण गर्ने सम्बन्धमा बुधबार प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमको रुपरेखा प्रस्तुत गर्ने भएका छन् । इंग्ल्याण्डमा यसघि ३० जनासम्मको जमघट गर्न पाउने व्यवस्था भएकोमा आगामी सेप्टेम्बर १४ बाट बढीमा ६ जनासम्म मात्र जमघट गर्न पाइनेछ । तर स्कुल, कार्यकक्ष वा कोभिड सुरक्षित विवाह,अन्त्येष्टि र संगठित टीम खेलमा भने सो नियम लागू हुनेछैन ।

 

नयाँ नियमअनुसार ठूलो संख्यामा आउटडोर या इन्डोर कुनै पनि स्थानमा भेला हुन बन्देज गरेको छ । यस नियमको उलंघन गर्नेलाई प्रहरीले तत्काल एक सय पाउण्ड जरिवाना गर्न सक्नेछ । तर पटक पटक नियम उलंघन गरेमा जरिवाना पनि बढीमा ३ हजार २ सय पाउण्डसम्म डब्लिन सक्नेछ ।

 

हाउसहोल्ड र  सपोर्ट बब्बल अन्तर्गत पनि नयाँ नियमले असर गर्नेछैन । यो नियम हाललाई इंग्ल्याण्डमा मात्र लागू हुनेछ । स्कटल्याण्ड, नर्दर्न आएरल्याण्ड र वेल्समा भने उनीहरु अआफैले आवश्यकता अनुसार नियम लागू गर्नेछन् । हाल स्कटल्यान्डमा छुट्टा छुट्टै पाँच परिवारका १५ जनासम्म जम्मा हुन् सक्नेछन् ।

 

वेल्समा ३० जनाको समूहमा एक आपसमा भेटघाट गर्न पाउनेछन । यसैगरी नर्दर्न आएरल्याण्डमा पनि आउटडोर भेटघाटलाई ३० जनाबाट १५ जनामा घटाएको छ । यसका साथै इन्डोर मिटिंग, घर तथा पब लगायतका ठाउँका लागि त्यहाँ  छुट्टाछुट्टै नियमहरु  छन् ।

 

इंग्ल्याण्डको जनजीवनलाई सहज पार्दै कोरोना संक्रमण नियन्त्र गर्नको लागि प्रधानमन्त्रीले आज बुधबार विस्तृत रुपमा जानकारी गराउने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछी  सरकारका चिफ मेडिकल अफिसर तथा चिफ साइन्टिफिक एड्भाइजरले तात्काल आवश्यक प्रक्रिया अपनाउनको लागि संयुक्त रुपमा सहमति जनाएका छन् ।

 

 

बेलायतमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ४१ हजार ५ सय ८६ जनाको ज्यान गैसकेको छ । सोमबार तीन जनाको मृत्यु भएको थियो भने मंगलबार मृतक संख्या दश गुणाले बढेर ३२ जना पुगेको छ । हालसम्म बेलायतमा ३ लाख ५२ हजार ५ सय ६० जना संक्रमित भएका छन् ।

 

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख भन्दा बढी पुगेको छ । कोरोना महामारीका कारण घुंडा टेकेको विश्वलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार