
भोजपुर । समुदायस्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमा पुगेको छ । भोजपुर सदरमुकामस्थित बैङ्कका कर्मचारी र समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको जिल्ला प्रशासनले जनाएको छ ।
संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक्तिको स्वाब संकलन गरिने
दैनिक सयौँको संख्यामा सेवाग्राहीको भिडभाड हुने राष्ट्रिय वाणिज्य बैङ्क भोजपुर शाखाका कर्मचारी, प्रहरी हिरासतमा रहेका थुनुवा र जरायोटारको होल्डिङ एरीयामा रहेका व्यक्ति गरि ३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएपछि प्रशासनले एकहप्ताका लागि लकडाउन जारी गरेको छ । समुदायस्तरका ती व्यक्तिमा कोरोना देखिएपछि समुदायस्तरमा कोरोना फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईँटेलले जानकारी दिए ।
संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजी सुरु गरिएको सहायक प्रजिअ लुईँटेलले जानकारी दिए । संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक्तिको स्वाब संकलन गरिने उनले बताए ।
यस्तै षडानन्द नगरपालिकामा पनि ५ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा वडा नं ४ का २ पुरुष र एक महिला, वडा नं ६ का एक पुरुष र वडा नं ८ एक महिलामा कोरोना संक्रमण पुष्टि भेटिएको थियो । होम क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाब गत भाद्र २२ गते विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने नगरपालिकाकी उपमेयर मेरिका राईले बताईन् ।
संक्रमितको रिपोर्ट पोजिटिभ आएपछि नगरपालिकाले ७ दिनको लागि सम्पूर्ण नाकासहित दिङ्लाबजार सिल गरेको छ । सतिघाटबाट प्रवेश गर्नअघि पिसिआर रिपोर्ट अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । जसमध्ये ९ जना निको भईसकेका छन् ।