भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकालमा उल्लेखनीय काम भएको बताएका छन् । आफ्नो कार्यकाल सकिन लागेको भन्दै आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् ।
क्याम्पस प्रमुख श्रेष्ठले विज्ञप्ती उल्लेख गर्दै उनको कार्यकालमा क्याम्पसको प्रशासनिक, भौतिक, शैक्षिक, व्यवस्थापनमा सकरात्मक प्रयास भएको जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा ०७४ सालमा विगत १० बर्षदेखि रोकिएको विद्यार्थी शिक्षण शुल्क बृद्धिलाई नियमित गराई आर्थिक संकटबाट क्याम्पसलाई सहयोग पु¥याउने काम भएको बताए । यसबाहेक क्याम्पसमा ग्रामीण विकास विषयको कक्षा सञ्चालन, विभिन्न अनुसन्धानमूलक तालिम तथा कार्यक्रम सम्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।
क्याम्पस प्रमुख श्रेष्ठको कार्यकालमा ब्रिटिस गोर्खा ट्रस्टको एक करोड ९१ लाख अनुदान लागतमा ९ कोठे पक्की भवन, ५९ लाख लागतको क्याम्पस प्रशासनिक भवनको तला थप, टेम्केमैयुङ गाउँपालिकाको ४ लाख र आमचोक गाउँपालिकाको ३ लाख गरी ७ लाख अनुदानबाट ई–लाईब्रेरी मर्मत कम्प्यूटर खरिद तथा नेट जडान र भोजपुर नगरपालिकाको एक लाख अनुदान र क्याम्पसको योगदान बापत ६० हजार गरी एक लाख ६० हजारको लागतमा क्याम्पस परिसरको बाटो ढलान भएको थियो ।
२०७३ कार्तिक ७ गतेबाट क्याम्पस प्रमुखको पद सम्हालेका श्रेष्ठको आगामी २०७७ कार्तिक ६ गते कार्यकाल सकिँदैछ । क्याम्पस प्रमुख श्रेष्ठले आफ्नो कार्यकाल सकिएपनि शैक्षिक जनशक्ति, प्रतिबद्ध प्राज्ञिक प्राध्यापक, पर्याप्त कक्षाकोठा भवन निर्माणमा अनुदान, टेक्निकल विषयहरुको आवश्यकता औँलाए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु जन्माएको क्याम्पसले विगतदेखी नै राजनीतिक, शैक्षिक, विभिन्न क्षेत्रमा आफ्नो छवि उच्च बनाएको क्याम्पस प्रमुख श्रेष्ठले बताए । २८ जना स्थायीकरार र १४ जना आशिंक गरी ४२ जना शिक्षक रहेको उक्त क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा करिब ६ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।