भोजपुर विमानस्थल सडक कालोपत्रे सुरु

  सिलिचुङ सम्बाददाता

भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थल पुग्ने सडकखण्ड अन्र्तगत कालोपत्रे गरिँदै । तश्विर, सिलिचुङ

 

भोजपुर । बर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सुरु भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको आवश्यक प्रक्रिया पुरा गरिएपनि निरन्तरको बर्षातले रोकिएको कालोपत्रे काम सुरु गरिएको हो ।
प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा सम्पन्न गरिने कालोपत्रे कामले तीव्रता पाएको छ । उक्त कालोपत्रेको मोटाई ४ सेन्टिमिटर छ । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रेको गुणस्तरमा ध्यान दिईएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । ‘प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रे कामलाई गुणस्तरीय बनाउन हामी लागी परेका छौँ’ मौसममा सुधार आएसंगै जिल्लामै पहिलो आसपाल्ड प्रविधिबाट उक्त कालोपत्रे काम थालिएको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी गराए ।
सडक कालोपत्रेसंगै जिल्लाबासीमा उत्साह छाएको छ । विगतमा जिल्ला अस्पताल तथा ग्रामीण भेगबाट विमानस्थलसम्म विरामी ओसारपसार गर्न समस्या हुन्थ्यो । कालोपत्रे निमार्णपछि यो समस्या कम हुने स्थानीयबासिन्दा सुनाउँछन् । उक्त टक्सार विमानस्थलसम्मको कालोपत्रे बनेपछि दैनिक रुपमा आवतजावत गर्ने यातायातका साधन र सर्वसाधरण यात्रुलाई सहज पुग्ने स्थानीय पासाङ शेर्पाले बताए ।
कालोपत्रे काममा विभिन्न सरोकारवाला निकायले अनुगमन पनि थालेको छ । अनुगमनका क्रममा काम मापदण्ड अनुसारकै गुणस्तरीयता पाईएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने, ‘यो जिल्लाको एउटा नमुना र गौरवशाली सडक योजना हो, निर्माणका क्रममा आउने विभिन्न समस्याको समाधानदेखि अनुगमनको पाटोमा हामीले निगरानी दिए छौँ’


मौसम र यन्त्र उपकरणमा समस्या नआएमा निर्माण काम कात्तिक दोश्रो हप्तासम्म सम्पन्न गरिसक्ने ठेकेदार कम्पनी रायमाझी जगदम्बा मार्सेली निर्माण सेवाले जनाएको छ । कालोपत्रे सुरु गर्दा स्थानीय सरकार र सरोकारवाला पक्षले ढुवानीका सवारीसाधन सञ्चलानमा रोक लगाउँदा केहि बाधा पुगेको कम्पनीको गुनासो छ । कम्पनीका सञ्चालक श्याम श्रेष्ठले भने, ‘कामको सुरुवातमा ढुवानीको साधनमा चलाउन दिएनन्, तर छलफल गरेपछि चलाउन दियो, तोकिएको समयमा नै कालोपत्रे सम्पन्न गरेर जिम्मा लगाउने लक्ष्य छ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार