बेलायतमा कोरोना भाइरसको खोप आइपुग्यो

लण्डन । खोप प्रयोगका लागि स्वीकृति दिएको केही दिनमा बेलायतमा कोभिड खोपको आइपुगेको छ । दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोप विहीबार लण्डन आइपुगेको छ ।

 

बेल्जियममा उत्पादन गरिएको खोप युरो टनेल हुँदै ‘रेफ्रिजरेटर लरी’ मार्फत् ल्याइएको हो । बेलायत ल्याइएको खोप कहाँ स्टोर गरी राखिएको छ भन्ने गोप्य राखिएको छ । सुरक्षालाई ध्यान दिदै गोप्य रुपमा खोप ल्याइएको छ । स्टोर गरिएको स्थानबाट कोभिड खोप वितरणका लागि अस्पतालहरुमा पठाउने तयारी छ । माइनस ७० डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने खोपलाई सुरक्षित राखिएको छ ।

 

बेलायतले फाइजर र बायोनटेकले उत्पादन गरेको कोभिड खोपको ४ करोड डोज अर्डर गरेको छ । एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।

खोप आइपुगेको बारे भने बेलायतले आधिकारिक रुपमा जानकारी गराएको छैन । बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूह लगायतहरुलाई खोप दिइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार