
भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै भोजपुरमा राँके जुलुस प्रदर्शन भएको छ । सरकार विरुद्ध लगातार विरोध सभा गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संयुक्त राँके जुलुस निकालेका हुन् ।
अनेरास्ववियू र युवा संघले शु्क्रबार भोजपुर बजारमा केपी शर्मा ओली नेतृत्वको सरकार विरोधी नारा लगाउर्दै राँके जुलुस प्रदर्शन गरेका थिए । भ्रष्ट र निरकुंश ओली सरकारको राजीनामा माग गर्दै प्रदर्शन गरिएको थियो । ‘ओली सरकार मुर्दावाद, असंवैधानिक संसद विघटन फिर्ता गर’ जस्ता नाराबाजी गर्दै भोजपुर सदरमुकाम परिक्रमा गरेका थिए । डाँडागाउँको जिरोप्वाईन्ट चौकबाट सुरु भएको जुलुस चारभञ्ज्याङस्थित कोणसभामा टुंगेको थियो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको मतको अपमान गर्दै कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउने रणनीतिमा लागेको भन्दै सरकारको कदमप्रति प्रतिकार जनाईएको अनेरास्ववियू भोजपुरका सह–संयोजक नविन राईले बताए ।
‘तानाशाही प्रवृतिले निरंकुश ढंगले देशको अहितमा लागेको भन्दै राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दिप राईले खेद जनाए । नेपाली जनताको हितविपरीत प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रको विवादको विषयलाई सामना गर्न नसक्दाको परिणामले गलत निर्णय लिएको उनले बताए ।








