
नेपाली राजनीतिमा सधैं गहकिलो उपस्थिती जनाउने भोजपुर जिल्ला अहिले वर्तमान राजनीतिक घट्नाक्रमको चर्चामा छ । विशेषगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि भोजपुरमा पनि पक्ष र विपक्षमा नेतादेखि कार्यकर्तासम्म विभाजित देखिन्छन् । दुवै पक्ष आफुलाई संस्थापन भएको बताउँदै आ–आफ्ना गतिविधि सुरु गरेका छन् । यद्यपी भोजपुरमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रम सतहमा देखिएको छ । नेताहरु फोनकल र भेटघाटमा वेफुर्सद छन् । गुटगत आँधीबेहरी सल्बालाएको छ । कुन नेता कता, कुन कार्यकर्ता कता भन्ने दाउपेचमा तछाडमछाडमा छन्, उनीहरु । तर आम कार्यकता र मतदाताहरु भने अझै अन्योलमा छन् । विशेषगरि नेता तथा कार्यकर्ताहरु आधिकारीक पार्टी र चुनाव चिन्हको विषयमा पर्ख र हेरको अवस्थामा प्रतिक्षारत देखिन्छन् । मुख्यमन्त्रीको गृहजिल्ला समेत भएकाले पनि भोजपुरमा जिल्ला तहदेखि तल्लो तहसम्मका नेता, कार्यकर्ता चल्मलाएको देखिन्छ ।
हेरौँ, कुन नेता कता छन त ?
भोजपुरमा नेकपा विभाजनअघि पनि धेरै केन्द्रीय सदस्यहरु थिए । जसमा अजम्बर राई काङमाङ, जयन्ती देवी राई, पदम बहादुर राई, राजेन्द्रकुमार राई, सुदन राई किँराती, शेरधन राई, हरिबहादुर राई जस्ता केन्द्रियस्तरका नेताहरु थिए । पार्टी विभाजनपछि भने निवर्तमान प्रदेश १ मुख्यमन्त्री शेरधन राईबाहेक सबै केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहमा छन् । भोजपुर घर भई हाल केन्द्रीय राजनीतिमा सक्रिय घनेन्द्र बस्नेत, प्रदिप नेपाल पनि प्रचण्ड–नेपाल समुहमा परेका छन् ।
भोजपुरको कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका र प्रमुख भुमिका खेलेका सबै नेताहरु प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीमा रहेपछि ओली पक्षधरमा नैतिक संकट आईपरेको देखिन्छ । तात्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा भोजपुरबाट जयन्ती देवी राई, राजेन्द्रकुमार राई, शेरधन राई, हरिबहादुर राई निर्वाचित भएका थिए । नेकपा माओवादीबाट अजम्बर राई काङमाङ र सुदन राई किँराती आए भने पदम बहादुर राई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट नेकपामा प्रवेश गरि केन्द्रीय सदस्य भएका थिए ।
जनाधार समेत रहेका नेताहरु नेकपामै रहेपछि ओली समुहले हतारहतार अधिवेशन आयोजक कमिटीमा नेताहरु मनोनयन गरेको छ । पार्टी विभाजनसगै ओली समुहले भोजपुरमा आफ्नो उपस्थिती देखाउन केन्द्रीय समितिमा मनोनय गरेको छ । ओलि समुहमा भोजपुरबाट कृपासुर शेर्पा, प्रेमकुमार राई, भरत तामाङ, सिर्जना राई, सुरेन्द्र उदास मनोनीत भएका छन् । धनहर्क राई, देविराम चौलागाई र सविना राई समेत अधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्य बनाउने चर्चा चुलिएको छ । जिल्लामा पूर्व माओवादीहरु भने एक ढिक्का भएर प्रचण्ड–नेपाल समुहको नेकपामा लागेका छन् ।
जनवर्गीयमा ओली समुहको विजोग
ओली समुह सम्बद्ध नेकपाको जनवर्गीय संगठनमा भने विजोग स्थितीमा देखिएको छ । विशेषगरि युवा र विधार्थीमा प्रचण्ड–नेपाल समुहको वर्चस्व छ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दीप राई र सह–संयोजक करण मुक्मेन राई प्रचण्ड–नेपाल समुहमा छन् । यसैगरि अनेरास्ववियूको संयोजकमा धुव्रराज राई र सह–संयोजक नविन राई पनि प्रचण्ड–नेपाल समुहमा रहेका छन् । भोजपुरमा तात्कालिन नेकपा एमालेमा समेत माधव कुमार नेपाल पक्षको जनवर्गीय संगठनको पकड रहेको थियो ।
स्थानीय तहमा पनि प्रचण्ड–नेपालको बर्चस्व
नेकपा विभाजनपछि यसको तरंग जिल्लाका स्थानीय तहमा पनि देखिएको छ । विभाजनपछि तात्कालिन नेकपा सम्बद्ध नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधीहरु समेत आ–आफ्नो पक्षको कित्ताकाटमा लागेका छन् । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राई प्रचण्ड–नेपाल समुहतिर लागेका छन् । यता पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, हतुवागढी गाउँपालिका अध्यक्ष पे्रेमकुमार राई, रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राई भने ओली समुहतिर परेका छन् । यीबाहेक स्थानीय तहका उपप्रमुखहरु भने प्रचण्ड–नेपाल समुहमा छन् । भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, षडानन्द नगरपालिका उपमेयर मेरिका राई, आमचोक गाउँपालिका उपप्रमुख सिता राई, रामप्रसादराई गाउँपालिका उपाध्यक्ष सम्झना राई प्रचण्ड–नेपाल समुहमा लागेका छन् ।
जिल्ला कार्यसमितिमा के छ ?
नेकपा भोजपुरको तत्कालिन जिल्ला कमिटिमा समेत प्रचण्ड–नेपाल समुहको बर्चस्व छ । जिल्ला कमिटिमा रहेका १ सय ४१ सदस्यमध्ये २५ देखि ३० जना सदस्य ओली समुहमा रहेको प्रचण्ड–नेपाल समुहको दाबी छ । जिल्ला तहसंगै ९ वटै स्थानीय तहको कार्यसमितिमा पनि आफ्नो पक्षमा ७० प्रतिशत नेता तथा कार्यकर्ता रहेको समुहले किटान गरेको छ । आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र साल्पासिलोछो गाउँपालिकामा आफुहरुको बलियो पकड रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । हतुवागढी गाउँपालिका भने तुलनात्मक रुपमा ओली समुह राम्रो रहेको एक नेताले बताए ।







