सडकीकरणले मासिँदै ‘ठेट्वालुङ’ अर्थात ढुंगे चौतारा संस्कृति

  सिलिचुङ सम्बाददाता

गाउँघरमा भेटिने ‘ठेट्वालुङ’ अर्थात ढुंगे चौतारा । तश्विर, सिलिचुङ

 

भोजपुर । दिवंगत मानिसको सम्झनामा उसको वंशावली ईतिहास कुँदेर बनाईने ‘ढुंगे चौतारा’ गाउँघरमा निकै महत्व राख्दछ । दशक पहिलेसम्म गाउँमा हरेक ४० मिटरको दुरीमा यस्ता चौतारा प्रशस्त भेटिन्थे । गाउँका मानिसहरु घाँस–दाउरा, गोठाला, मेलापातबाट फर्कँदा विसौनी लगाउँथे । ती चौतारामा कहिले भरियाहरु भारी विसाईरहेका त कहिले बटुवाहरु पसिना सुकाईरहेका हुन्थे । विहेका जन्तीहरुको सगुन पिउने र मलामीहरुको खाजा खाने ठाउँ नै चौतारा हुन्थ्यो । सबैको सुखदुःख विसाउने दौँतरीदेखि ठिटाठिटीको मायापिरती गाँस्ने जमघट नै चौतारामा हुन्थ्यो । तर विकासको नाममा जताततै डोजर चल्न थालेपछि ती पुरातात्विक सम्पदा धराशायी बने । गाउँगाउँमा सडक खन्न थालिएपछि यी यस्ता ढुंगे चौतारा संस्कृतिको अस्तित्वमा आँच आउँदै गएको छ । धेरैजसो चौताराहरुको नामनिशाना हराए । कतिपय जोखिममा छन् ।

विकास नै सडक सम्झने प्रवृतिले गाउँले संस्कृति नै धरासायी बन्दै गएको छ

बढ्दो शहरीकरण र सडकीकरणले ढुंगे चौतारा विरानो बन्दै गएको छ । विकासको नाममा गाउँगाउँमा सडकसञ्जालहरु जोडिने क्रमले ती पुरातात्विक सम्पदामा सर्जकहरुको ठम्याई छ । ‘अहिले गाउँघरमा ढुंगे चौतारा भेटिन छाडेका छन्, संरक्षण सम्बद्र्धन गर्नेभन्दा पनि मूलबाटो सडक पु¥याउने होडबाजीले हाम्रो पहिचान नै धरासायी बन्दै गएको छ’ भोजपुर नगरपालिका ५, बोखिमका स्थानीय अगुवा अर्जुन कुमार राईले भने, ‘गाउँको पहिचान र संस्कृतिसंग जोडिने ढुंगे चौताराले हाम्रो ईतिहास दर्शाउँछ, तर यसको संरक्षणमा पछिल्लो पुस्ताको चासो छैन’
२०६० यता मध्यपहाडी मुख्य सडकसञ्जालले जोडिएसंगै भोजपुरका गाउँगाउँमा पनि मोटरबाटो खन्न थालियो । स्थानीय तह आएपछि हरेक वडा तहले पनि टोलटोलमा सडक खन्ने र खनाउने काममा वर्षेनी योजना र बजेट हाल्न थाले । विकास नै सडक सम्झने प्रवृतिले गाउँले संस्कृति नै धरासायी बनेको स्थानीय पुरातात्विकविद् टिकाराम राईको पुष्ट्याई छ । भन्छन्, ‘पछिल्लो पुस्ताले सडक नै पहिलो प्राथमिकतामा राखे र जथाभावी सडक खन्न थाले, जसले हाम्रो परम्परामा खलल पु¥यायो, पहिचान हराउन थाल्यो’
किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा अहिलेपनि धेरै किँरातबस्तीमा दिवंगत व्यक्तिको स्मृतिमा उसको वंश ईतिहास शिलालेखमार्फत समेटेर घरपायक वा यात्रुबटुवा हिँड्ने मूलबाटो, चौबाटो, भञ्ज्याङ जस्ता सार्वजनिक स्थानमा चौतारा हाल्ने प्रचलन छ । विशेषगरि ढुंगे चौतारा किराँती मुन्दुमी संस्कृतिमा निकै महत्व राख्दछ । यसलाई किँरात राई वान्तावा भाषामा ‘ठेट्वालुङ’ भनिन्छ । प्राचिन किँराती बंशावलीमध्ये ‘खाँबु’ नाम गरेको व्यक्तिबाट चौतारा संस्कारको विकास भएको संस्कृतविद्हरु मान्दछन् । पृथक तरिकाबाट आफ्ना पूर्वजको नाम राखेर किँरात राई जातीहरुको मुन्दुमी अभिलेख राख्नु नै चौताराको महत्व रहेको किँरात संस्कृतविद् कमलजंग राई बताउँछन् ।
‘किँरातहरुको पहिचान नै शिला अभिलेन वा ढुंगे चौतारा हो, यहाँ हाम्रो ईतिहास कुदिन्छन्, जसले पुस्तान्तरण हुँदा पनि दरिलो ऐतिहासिक अभिलेखको रुपमा प्रमाण समेट्दछ’ राई थप्छन्, ‘ढुंगे चौतारा भन्नु हाम्रो आफ्नो भाषा, संस्कृति र वास्तुकलासम्बन्धि पनि दरिलो उदाहरण र पहिचान बोक्ने परम्परा हो’ अहिले पनि कुनै गाउँबस्तीमा चौतारा धेरै भेटिन्छन् भने त्यो ठाउँमा किँरात राई समुदायको बस्ती रहेको विज्ञहरु मान्दछन् । विकासले फड्को मारेसंगै गाउँघरका पुराना सम्पदाहरु मासिने क्रम चलेको छ । तर पनि ऐतिहासिक प्रमाणलाई जगेर्ना गर्ने र गाउँघरको मौलिकतालाई यथावत राख्नलाई पनि चौताराको संरक्षण सम्बद्र्धन गर्न आवश्यक छ । ईतिहास र मौलिकतालाई पुस्तान्तरण गर्नका लागि पनि चौताराको महत्व धेरै हुने गरेको विज्ञहरु ठम्याउँछन् ।

गाउँघरमा भेटिने ‘ठेट्वालुङ’ अर्थात ढुंगे चौतारा । तश्विर, सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार