
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड –१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन् । बेलायतबाट फर्किएका मध्ये तीनजनामा कोभिड(१९ को नयाँ प्रकार देखिएको हो ।
मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।
२८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको हो । तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण भने देखिएको छैन ।
नेपालमा कोरोना भाइस संक्रमणबाट हालसम्म १९ सय ५९ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६७ हजार ३२२ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जनाले स्वास्थ्य लाभ गरेका छन् । कोरोनाको जोखिम यथावत रहेको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।







