विश्वकप छनोट खेल्नुअघि खेलाडीलाई अनिवार्य क्वारेन्टिन

भोजपुर । दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई अनिवार्य १० दिन होटेल र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मार्च महिनामा हुने विश्वकप छनोटको मितिअघि नै स्वेदश फर्किन खेलाडीहरूलाई आग्रह गरेको छ । यसैबीच विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले प्रत्येक क्लबलाई खेलाडी रिलिज गर्न भनेको छ । यसमा खेलाडी, सम्बन्धित फुटबल संघ तथा क्लबबीचको आपसी समझदारीमा केही प्रोटोकलमा लचिलो हुन सक्ने अवस्था छ ।
गत वर्षको अक्टोबरमा विश्वकप छनोटताका नै केही युरोपियन क्लबले खेलाडी राष्ट्रिय टोलीमा सहभागी हुन अनुमति दिएका थिएनन् । मार्च महिनामा दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीचको महत्वपूर्ण खेल छ । युरोपियन फुटबलमा धेरैजसो दक्षिण अमेरिकी खेलाडीको वचस्र्व छ । यदि विश्वकप छनोटमा भाग लिए उनीहरू कम्तीमा १ अप्रिलअघि युरोप फर्कन सक्दैनन् । यसको अर्थ इंग्लिस प्रिमियरसिपमा केही समय दक्षिण अफ्रिकी खेलाडीविना नै क्लबहरूले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
‘यहाँ कुनै किसिमको दबाब छैन, हामीले क्वारेन्टाइनमा बस्नुपर्ने खेलाडीको रातो सूची निकालेका छौँ, त्यहीअनुसार खेलाडी आ–आफ्नो मुलुकमा फर्कंदा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इंग्लिस प्रिमियर लिगमा रोवर्टो फिर्मिनो, अलिसन बेकर, फाविन्हो, थियागो सिल्भा, सर्जिगो अगुएरो, ग्राबिएल जिजस, एलेक्स टेलेर्स तथा इडिसन काभानीले कम्तीमा दश दिनको क्वारेन्टाइनमा बस्ने महासंघले उल्लेख गरेको छ ।
यता म्यानचेस्टर युनाइटेडका पोर्चुगाली खेलाडी ब्रुनो फर्नान्डेजले पनि २०२० को विश्वकप छनोट खेल्न घर जाने अनुमति पाएका छन् । युरोपियन फुटबल महासंघले अहिलेसम्म छनोटअघिको प्रोटोकल जारी गरेको छैन । इपिएल च्याम्पियन लिभरपुल र आर्सनलले आफ्ना दक्षिण अमेरिकी खेलाडीलाई ३ अप्रिलसम्म मात्र प्राप्त गर्नेछन् । दक्षिण अमेरिकामा विश्वकप छनोट सञ्चालन भइरहँदा इपिएलमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल तथा टोटनह्यामले महत्वपूर्ण खेल खेल्नेछन् । युनाइेटडले फर्नान्डेज, काभानी, टोटनह्यामले डेभिसन तथा गिआभानी सेल्सो गुमाउने पक्का छ ।
यसैगरी युरोपियन च्याम्पियन्स लिग तथा युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा धेरैजसो दक्षिणअमेरिकी खेलाडीविना नै प्रतिस्पर्धा हुने सम्भावना छ । युरोपबाट एकैपटक विश्वकप छनोट खेल्दा खेलाडी घाइते हुने सम्भावना धेरै हुन्छ । यसकारण पनि खेलाडीलाई आराम दिन, मानसिक तनावमुक्त पार्न र फिट गराउन नै दश दिनको क्वारेन्टाइन व्यवस्था मिलाएको दक्षिण अमेरिकी फुटबल महासंघको भनाइ छ । फिफाको निर्देशनअनुसार खेलाडीले अनिवार्य रूपमा प्रोटोकल अपनाउनुपर्नेछ ।
इपिएलमा १६ क्लबमा दक्षिण अमेरिकी खेलाडी छन् । लेस्टर, फुलहाम, वेस्टब्रुम तथा चेल्सीमा एकजना खेलाडी छन् । उल्भ्समा दुईजना मात्र दक्षिण अमेरिकी खेलाडी छन् । यस क्लबमा आठजना पोर्चुगलका खेलाडी आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार