
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षले आह्वान गरेको आम हड्ताल सफल पार्नका शीर्ष नेताहरु सडकमा देखिएका छन्। नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेता सडकमा उत्रिएका हुन्।
प्रचण्ड माधव पक्षले आह्वान गरेको आम हड्तालको कारणले बिहीबार बिहानैदेखि उपत्यकासहित देशभरको जनजीवन प्रभावित हुन पुगेको छ। अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प भएका छन्।
छिटफुट रुपमा मोटरसाईकल र निजी सवारीसाधन सञ्चालन भएका छन्। अध्यक्षद्धय प्रचण्ड र माधवसहित बन्द आह्वान कर्ताले चोकचोकमा बसेर बन्द सफल बनाउन प्रदर्शन गरिरहेका छन्।
आम हड्ताल सफल पार्न अध्यक्ष दाहालसहित सातदोबाटो, पुल्चोक हुँदै कोटेश्वरलगायतका क्षेत्रमा पुगेर सम्बोधन गरे।
सडकमा अध्यक्ष प्रचण्डले ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘काम चलाउ म्यादी सरकार मुर्दावाद’, ‘केपी तेरो पाराले दुःख पाए सारा’ जस्ता नाराबाजीसमेत गरे।
ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेपछि बाध्य भएर सडकमा आउनुपरेको उनले बताए। अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुनसक्ने समेत बताए। उनले ओली समूहले राजधानीमा भोलि गर्न लागेको सभालाई पञ्चर्यायालीको संज्ञा दिए।
‘आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्चर्यायाली नै हो, पञ्चायतमा पञ्चहरूले पैसा दिएर लाखौं मानिस सडकमा उतार्थे ओलीले त्यस्तै गरेका छन्’ उनले भने, ‘संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरूमा नियुक्त गरिएको छ। यो जंगल राजजस्तो भयो।’
ओलीको कदमले लोकतन्त्रमाथि प्रहार भएको भन्दै त्यसका लागि सबै एकजुट भएर उत्रन आह्वानसमेत गरे। ‘जसरी असंवैधानिक र लोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो’ उनले भने, यो आन्दोलन केपी र प्रचण्ड बीचको जुहारी नभई गणतन्त्र र गणतन्त्र विरोधीको लडाइँ हो।’
यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश शासक भएको आरोप लगाए। ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आउन परेको उनले बताए।
‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन्। ओली भनेको निरङ्कुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ’ उनले भने, ‘संविधान र गणतन्त्र र संघीयता सँग पक्षमा पनि ओली छैनन्। संवैधानिक परिषद्मा नियुक्ति गरेको प्रक्रिया नै गलत छ।’
काम चलाउ सरकारले असंवैधानिक अधिनायवादको विरुद्धमा बन्द आह्वान गरेर जनतालाई पनि विरोध जनाउन आम हड्ताल गरेको प्रष्ट्याए।
यता, बन्दलाई सफल पार्नका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा लगायतका नेताहरु पनि सडकमै छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई शपथग्रहण गराएपछि नेकपाले आम हड्तालको घोषणा गरेको हो।
काठमाडौंमा हड्ताल सफल पार्नका लागि कलंकी युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरूङ, कोटेश्वरमा लीलामणि पोखरेल कोटेश्वर, चावहिलमा हरिबोल गजुरेल र वर्षमान पुन, महाराजगञ्जमा शक्ति बस्नेत छन्।
यस्तै, गोंगबु मा भीम रावल, बालाजुमा रघुजी पन्त, रत्नपार्कमा प्रवक्ता श्रेष्ठ र जनार्दन शर्मा, र पुल्चोकमा पम्फा भुसाललाई नेतृत्वको जिम्मेवारी दिइएको छ।
बन्द सफल पार्न सडकमा निस्किएका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ७० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले बुधबार नै एक विज्ञप्ती जारी गर्दै पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको थियो।
दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्ती रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालयले आग्रह गरेको थियो।
आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको थियो।







