
लण्डन । बेलायतमा भइरहेको राष्ट्रिय जनगणनाको क्रममा सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भन्ने एक हिन्दु पण्डितले गरेको अपिललाई नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आपत्ति जनाएको छ ।
हिन्दु पण्डित ज्योतिष निलहरि घिमिरेले जातीय पहिचानका लागि धर्ममा ‘हिन्दु लेखौं’ भनिएको अपिलले बेलायतमा बसोबास गर्ने कुल नेपालीहरुमध्ये ८० प्रतिशत नेपाली आदिवासी जनजातिहरुको धर्ममाथि ठेस र प्रहार भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले बेलायतले आपत्ति जनाएका हुन ।
आउँदो मार्च २१ मा हुने बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित घिमिरेले बेलायतस्थित सम्पूर्ण नेपालीहरुलाई धर्मको ठाउँमा ‘हिन्दु’ लेखौं भनेर अपिल गरेका थिए । उक्त अपिलको समाचार बेलायतबाट सञ्चालन हुदै आएको नेपाली अनलाइन नेपालीलिंकबाट प्रकाशित भएपछि नेपाल आदिवासी जनजाती महासंघ बेलायतले अन्य जातजाति र धर्मलम्बीहरुमाथि नै प्रहार भएको भन्दै वैयत्तिक स्वतन्त्रतामाथि धावा बोल्न काम भएको भन्दै विज्ञप्तीमार्फत कडा आपत्ति जनाएका छन ।
महासंघको अध्यक्ष जंग सुनुवार र महासचिव खुशी लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा सबै नेपालीहरुले ‘हिन्दु लेखौं’ भनेर जालसाझीपुर्ण गरिएको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाइएको छ । ‘प्रजातन्त्र र मानवअधिकारको जननी बेलायत जस्तो मुलुकमा सुझबुझपुर्ण सबै जातीय र धार्मिक पहिचानको अस्तित्वलाई स्वीकार गर्दै सबै जातजातिको अस्तित्वलाई सम्मान र संरक्षण गर्नुपर्नेमा एकल तवरले ‘हिन्दु लेखौं’ भनेर अरुको पहिचानलाई नामेट गर्ने तवरले नैतिक र मनोविज्ञान दवाव दिने कोशिस भएको छ ।’ नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले भने ‘यसले एकअर्काको धार्मिक सम्मान होइन । धार्मिक असहिष्णुता, धार्मिक उपेक्षा र अरुको आस्थामाथि नै प्रहार गरिएको छ । यसबाट जातीय विग्रह ल्याउने कोशिस भइरहेको छ । यस्तो कार्य तत्काल रोक्न हामी आग्रह गर्दछौं ।’
विज्ञप्तीमार्फत तमुधी युक, किरात राई यायोक्खा, मगर संघ युके, किरात याक्थुम चुम्लुङ युके, किरात सुनुवार सेवा समाज युके, किरात याक्खा छुम्मा युके, तामाङ सोसाइटी अफ युके, शेर्पा संघ बेलायत, बेलायत छन्त्याल संघ र दुरा सेवा समाज युके लगायत जातीय संघसंस्थाहरुले पनि उक्त अपिल र समाचारप्रति आपत्ती जनाएको छ ।







