
बेलायतमा भइरहेको राष्ट्रिय जनगणनामा बेलायत बस्ने सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भनेर एक हिन्दु पण्डितले सबै नेपाली सुमदायहरुमा गरेको अपिललाई हिन्दु बाहेकका जातजातिहरुले आपत्ति जनाएका छन । आउँदो मार्चदेखि बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डितलले बेलायतस्थित सम्पूर्ण नेपालीहरुलाई धर्मको ठाउँमा ‘हिन्दु’ लेखौं भनेर अपिल गरेका थिए । उक्त अपिलको समाचार एक नेपाली अनलाइनमा प्रकाशित भएपछि नेपाल आदिवासी जनजाति महासंघ बेलायतले बेलायत बसोबास गर्ने आदिवासी जनजाति र धर्मलम्बीहरुमाथि नै प्रहार र वैयत्तिक स्वतन्त्रतामाथि धावा बोल्न काम भएको भन्दै विज्ञप्तीमार्फत कडा आपत्ति जनायो । अपिलले बेलायतमा बस्ने कुल नेपालीहरुमध्ये ८० प्रतिशत आदिवासी जनजातिहरुको धर्ममाथि ठेस र प्रहार भएको आदिवासी जनजाति महासंघ बेलायतले ठहर गरेको छ । यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारसंग सिलिचुङ अनलाइनका लागि किरण राईले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
बेलायतको राष्ट्रिय जनगणनामा सबै नपालीहरूले धर्ममा ‘हिन्दु लेखौं’ भनेर एक पण्डितले गरेको अपिलप्रति तपाईहरूको आपति किन ?
धार्मिक आस्था संवेदनशील बिषय हो । आस्था देखिने कुरा होइन हृदयभित्र छुने कुरा हो । कसैको आस्थामा ठेस पुर्याउने काम गर्नु गलत हो । आस्था भावनासंग जोडिएको हुन्छ । मन मस्तिष्कभित्र गहिरो रुपमा गाडिएको हुन्छ र विश्वमा हामीले धार्मिक युद्ध भएको देख्छौ । बेलायतमा बसोबास गरेका सबै नेपालीहरुको एउटै धार्मिक आस्था छैन, कोहि बौद्ध धर्म मान्ने छन् भने कोहि किरात धर्म कोहि क्रिश्चियन धर्म मान्ने समुदायहरु छन । वास्तवमा पण्डितले बेलायतको जनगणनामा सबै नेपालीले आ–आफ्नो धर्म लेख भनेर अपिल गर्नु पर्ने हो । पण्डित भनेको धर्म गुरु हो शासक होइन, धर्म गुरुले अरुको धर्मलाई पनि सम्मान गर्न जान्नु पर्छ । यसरी जनगणनामा सबै नेपालीले धर्मको महलमा हिन्दु धर्म लेखौ भनेर मिडियामा प्रचार प्रसार गर्नु गैर कानुनी हो ।
उनी आफु हिन्दु र त्यसमा पनि पण्डित भएकाले आफ्नो पहिचानको आधारमा हिन्दु लखौं भनेर भन्न किन नपाउने ?
पण्डितले हिन्दु धर्ममा आस्थामा राख्नेहरुलाई हिन्दु धर्म लेखौ भन्न सक्छ, त्यो उहाँको अधिकारको कुरा हो । मन्दिरभित्र आएका भक्तजनहरुलाई अपिल गर्न सक्छ तर खुलेआम मिडियामा सबै नेपालीहरुलाई सम्बोधन गरेर हिन्दु धर्म लेख भन्नु गलत हो ।
हिन्दु पण्डितको अपिलले आदिवासी जनजातिहरूलाई कहाँ , कसरी ठेस पुग्यो ?
यस प्रसंगमा मैले माथिको प्रश्नमा पनि भनि सकेको छु । बेलायतमा रहेका ८० प्रतिशत आदिबासी जनजातिहरु हिन्दु बर्णश्रामभित्र नपर्ने समुदाय हो र केहि बाहेक हिन्दु धर्म मान्दैनन । बौद्ध धर्म गुरुले सबै नेपालीले बुद्ध धर्म लेखौ भन्दा हिन्दु धर्मवलम्बीको आत्मामा ठेस पुग्छ कि पुग्दैन ?
हिन्दु लेखौं भन्नुबितिकै सबै हिन्दु नै लेख्छन भन्ने पनि छैन । बेलायत बस्ने त्यसमध्ये पनि सुझबुझपुर्ण भएकाहरू नै छन । यस्तो अवस्थामा पनि असर गर्छ र ?
हाम्रो भनाइ सुझबुझ भएको व्यक्ति वा पण्डित जस्तो धर्म गुरुले धर्मको बारेमा बेलायत जस्तो प्रजातान्त्रिक र मानव अधिकारको जननी मुलुकमा यसरी सबैलाई हिन्दु धर्म लेखौ भनेर अपिल गर्नु प्रचारप्रसार गर्नु नै गलत काम हो । त्यसो हो भने हामीले पनि बेलायतमा हुदै गरेको जनगणनामा धर्मको महलमा सबै नेपालीले किरात धर्म लेखौ भनेर प्रचार प्रसार गरौ न त, ठिक हुन्छ ?
तपाईहरूले आ–आफ्नो पहिचान झल्कने र अनुसरण गर्दै आएको धर्म लेखौ भनेर सचेतना चहि किन नगर्नु भएको ?
आफ्नो धर्म , सस्कृति पहिचान हो भनेर थाहा नहुने व्यक्ति जरा बिनाको रुख हो , उ एक दिन ढल्छ । जब हामी जन्म लिन्छौ साना बालकदेखि नै आमा बुबाले हामीलाई आफ्नो भाषा धर्म संस्कृति सिकाउनु हुन्छ देखाउनु हुन्छ र हामीले त्यहि अनुसार सिक्दै जान्छौ अनुसरण गर्दै जान्छौ । आफ्नो धर्म संस्कृति परिवारबाट सिक्ने कुरा हो, अरुले भनि रहनु पर्ने सचेत गराउनु पर्ने होइन जस्तो लाग्छ ।
यस्तो जनगणनामा उल्लेख हुने धर्म र पहिचानले दुरगामी प्रभाव पार्छ भन्ने ताईहरूले कतिको सोच्नु भएको छ ?
आफ्नो मौलिक संस्कृति धर्म पहिचान लोप हुदै जाने हो भने अवश्य पनि दुरगामी प्रभाव पर्छ, असर हुन्छ । त्यसैले बेलायतमा आ–आफ्नो जातिय संगठनले भावी पिँढीको लागि आफ्नो धर्म संस्कृति जगेर्ना गर्न र संरक्षण गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाल आदीवासी जनजाति महासंघ बेलायतले पनि विभिन्न कार्यक्रममा वक्तब्य दिने क्रममा आफ्नो भाषा धर्म संस्कृति जगेर्ना गर्न र युवा पुस्तालाई सजक बनाउन सामुहिक रुपमा भन्दै आइरहेको छ ।
आफ्नो धर्म संस्कार, सँस्कृति र पहिचान बचाउन तपाईहरूको कार्य के छ र आगमी दिनमा कस्तो कार्य हुनेछ ?
नेपाल आदीवासी जनजाति महासंघ बेलायतले नेपालमा रहेका आदिबासी जनजातिहरुको पहिचान को सवालमा सामुहिक हक अधिकार, सामाजिक न्याय र आर्थिक, सामाजिक परिबर्तनका लागि बिदेशबाट बुलन्द आवाज उठाउने काम गर्छ त्यो आर्थिक, नैतिक, भौतिक र बौद्धिक जुन रुपमा पनि हुन सक्छ । जातिय मुक्ति, मौलिक भाषा, संस्कृति धर्म पहिचानको लागि नै आदिबासी जनजाति बिगत ३० बर्षदेखि आन्दोलनमा छ । नेफिन युके १० जातिय संगठनहरुको छाता संगठन भएकाले आफ्नो भाषा संस्कृति धर्म को संरक्षण गर्न सामुहिक रुपमा सचेतना मात्र गराउने काम गर्छ। आआफ्नो मौलिक संस्कृति, भाषा र धर्म बचाउने काम मातृ संस्थाहरुको हो ।








