
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट हुँदा सातजना घाईते भएका छन् । विष्फोटमा परि घाईते हुने सर्वसाधारण भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेलाई उपचारका लागि अस्पताल पुर्याईएको छ । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका, ४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुब्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका(३ का हुन् ।
मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसमेत सो शाखामा रहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब १२ ः ४० बजे बम विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको दमकल घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।







