
भोजपुर । आधुनिक प्रविधीको पठनपाठन प्रभावकारी बन्न थालेसंगै सामुदायिक विद्यालयहरु प्रविधीमय बन्न थालेका छन् । विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधीको जमाना अनुसारकै ई–लर्निङ अर्थात कम्प्यूटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।
डिजिटल सिकाईले विद्यार्थीहरु नयाँ प्रविधिसंग नजिक हुनुको साथै अध्ययन गर्ने शैलीमा समेत परिर्वतन आएको छ ।
पछिल्लो ३ वर्षको अन्तरालमै भोजपुरका सबैजसो विद्यालयमा डिजिटल प्रविधीको सिकाई विस्तार हुँदै गएको छ । कम्प्युटरबाट पुस्तक, विषयगत पाठ्यक्रम र सन्दर्भसामग्री सहजै पढ्न र हेर्ने व्यवस्था भएपछि शिक्षक, विद्यार्थी दुवैलाई डिजिटल प्रविधी प्रभावकारी बन्दै गएको हो ।
कम्प्यूटर र ईन्टरनेटको माध्यमले जिज्ञासु र विषयगत जानकारी लिन सहज भएको विद्योदय मावि कक्षा १० की छात्रा प्रतिबिम्ब राईले सुनाईन् । ‘पहिले कम्प्यूटरको पाठ नै कण्ठ गर्नुपथ्यो, परिक्षामा अरु विषय जस्तै पढे, रटेको, घोकेको कण्ठ गरे अनुसार लेख्न पर्दा कम्प्यूटर सम्बन्धि पूर्ण ज्ञान नै थिएन,’ उनले भनिन्, ‘अहिले सबैको हात कम्प्यूटरमा पुगेकाृ छ, पाठको विषय र कम्प्यूटरलाई अझ नजिकबाट जान्न सजिलो भएको छ ।’
शैक्षिक गुणस्तर बढाउने उद्देश्यले प्रदेश सरकारले पनि चालु आवमा एकसय नमुना विद्यालय समेत छनौट गरेको छ । जसमध्ये भोजपुरमा भोजपुर नगरपालिका ४, सिद्देश्वरस्थित सिद्देश्वर माध्यमिक विद्यालयमा डिजिटल प्रविधिको पठनपाठन सुरु गरिएको छ । एकातिर विद्यालयमा कम्प्यूटर नहुँदा, अर्कोतिर किताबमा सिमीत हुनपर्दा कम्प्यूटर कक्षाका लागि बजार नै धाउनुपर्ने बाध्यता थियो । सदरमुकामका नाम चलेका कम्प्यूटर ईन्स्टिच्यूटमा मंहगो शुल्क तिरेर कम्प्यूटर सिक्नुपर्ने बाध्यता थियो ।
तर विद्यालयमै कम्प्यूटर र ईन्टनेट आएपछि मंहगो शुल्क तिरेर बजार धाउनुपर्ने समस्या निदान भएको पञ्चकन्या मावि बोखिम कक्षा ८ का अदित्य राईले बताए । भने, ‘स्कूलमा कम्प्यूटर नहुँदा मंहगो खर्चेर सदरमुकाम जानुपथ्र्यो, तर अब स्कूलमै कम्प्यूटर आएपछि पैसा पनि, समय पनि जोगिएको छ ।’
नयाँ पाठ्यक्रमले अनिवार्य प्रयोगात्मक विषयको रुपमा कम्प्यूटर राखेपछि सुरुवातमा समस्या थियो । गाउँगाउँमा विजुली र ईन्टरनेट नहुँदा कम्प्यूटर व्यवस्थापनमा पनि समस्या थियो । तर अहिले सबै टरेपछि डिजिटल सिकाई नै बढि प्रभावकारी भएको शिक्षकहरु बताउँछन् । ईन्टरनेटको माध्यमले खोजेजस्तै सम्पूर्ण सामाग्रीहरु कम्प्यूटरमा सहजै पाउने भएपछि सहज बनेको पञ्चकन्या मावि बोखिमका शिक्षक हर्कराज राईले बताए । ‘कम्प्यूटर विषयको किताबभन्दा विद्यार्थीहरु बास्तविक कम्प्यूटरको अगाडी स्वाभाविकैले बढि जिज्ञासु बनाउछ ।’ उनले भने, ‘आफुलाई चाहिने सम्पूर्ण विषयगत सामाग्री ईन्टरनेटमा सहजै पाउने भएकाले पनि बढि यो ई–लर्निङ बढि प्रभावकारी बन्दै गएको हो ।’
डिजिटल सिकाईले विद्यार्थीहरु नयाँ प्रविधिसंग नजिक हुनुको साथै अध्ययन गर्ने शैलीमा समेत परिर्वतन आएको छ । ई–लर्निङ्ग कक्षामा एकैपटक ८० जना विद्यार्थीहरुले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध बिषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको हो । ईन्टरनेट नहुँदा पनि ‘वेभ–सर्भर’ प्रणालीबाट पुस्तकालय प्रयोग गर्न सकिने राधाकृष्ण मावि श्यामशिलाका शिक्षक केशव ढकाले बताए । जिल्लाका नौवटै तहमा ३ सय १८ आधारभुत र ६६ वटा माध्यमिक गरी कुल ३ सय ८४ वटा सामुदायिक विद्यालयहरु सञ्चालित छन् ।
यस्तै हतुवागढी गाउँपालिकाका नौ वटा सामुदायिक विद्यालय, भोजपुर नगरपालिका ४ दाँवाको सिद्धेश्वर माध्यमिक विद्यालय र ट्याम्के मैयुङ गाउँपलिका ९, लेखर्कको सिंहदेवी माध्यमिक विद्यालयमा पनि विद्युतीय पुस्ताकालय जडान गरेको छ । ई–लाइब्रेरीका लागि हतुवागढी गाउँपालिकाका नौ वटै विद्यालयका लागि गाउँपालिकाले सातवटा विद्यालयलाई ७५ हजारका दरले रकम जम्मा गरिदिने र दुई विद्यालयको पुरै रकम गाउँपालिकाले आफै जम्मा गर्ने गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए । ई–लाइब्रेरी जडान पूर्ण रुपमा भएपछि विद्यार्थीको शैक्षिक गुणस्तर बढ्ने भएकाले विद्यालयमा कम्प्युटर शिक्षा तथा ई लाइब्रेरीबाट पठनपाठन सुरु गरीने राईले बताए ।








