
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्न पार्टीहरुबीच मोर्चा बन्ने बताए।
‘मोर्चा त बन्छ, बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ। हामीहरु र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग हाम्रो ‘वेभ लेन्थ’ धेरै नै मिल्छ। उहिल्यैदेखि मिल्दै आएको हो।
त्यहाँ पनि मोर्चा बन्न सक्छ। नेपाली कांग्रेससँग कम्तीमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ,’ प्रचण्डले भने, ‘अहिले मोहन विक्रम र वैद्यजीहरुसँग एकता तुरुन्तै भइहाल्छ भनेर धेरै लोभ गर्न हुँदैन। तर मोर्चाचाहिँ बन्छ। मोर्चा बन्यो भने अहिले पत्रकार महासंघको चुनावमा मोर्चा बनाएर हामीले देशैभरि मूलभूत रुपमा जितियो, ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ। आउने चुनावमा हामीले राम्रोसँग मोर्चा बनायौं, इमानदार भयौं र मेहनत गर्याैं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो। त्यसपछि उनको विघटन सुरु हुन्छ।’
उनले आफूहरुले फेरि पनि कम्युनिस्ट आन्दोलनको एकताको झन्डा उठाइराख्नुपर्ने बताए। नेपालमा कम्युनिस्ट आन्दोलन आवश्यक रहेको, समाजवाद निर्माणका निम्ति विशाल कम्युनिस्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक भएको र अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टीलाई पुनर्मिलन गराउन जरुरी भएको उनले बताए।







