नेपाल-खनाल समूहको सर्कुलरः वडा र टोलसम्म समानान्तर कमिटी

एमालेको नेपाल-खनाल समूहले प्रदेश, जिल्ला र पालिकाहरूमा मात्र नभई वडा र टोलसम्मै समानान्तर समिति गठनमा तीव्रता दिने भएको छ।

 

वरिष्ठ नेता माधवकुमार नेपालको हस्ताक्षरमा आइतबार मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उक्त विषय उल्लेख छ। त्यसलाई उक्त समूहले कमिटी विस्तार तथा पुनर्गठन नाम दिएको छ।

 

‘प्रदेश तथा जिल्ला कमिटीलाई पूर्णता दिने, बाँकी जिल्लाहरूमा कमिटी विस्तार तथा पुनर्गठन गर्ने र पालिका, वडा र टोलहरूमा समेत कमिटी गठन-पुनर्गठन गर्ने काम यथाशीघ्र सम्पन्न गर्न निर्देशित गरिन्छ,’ सर्कुलरमा उल्लेख छ।

 

प्रदेश-१ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा उक्त समूहले समानान्तर कमिटी गठन गरिसकेको छ। यस्तै, वेदुराम भुसालको संयोजकत्वमा सम्पर्क विशेष प्रदेश कमिटी र विजय पौडेलको संयोजकत्वमा उपत्यका विशेष प्रदेश कमिटी गठन गरिएको सर्कुलरमा उल्लेख छ।

 

सर्कुलरअनुसार नेपाल-खनाल समूहले हालसम्म ६३ वटा जिल्लामा समानान्तर कमिटी गठन भइसकेका छन्। विराटनगर, पोखरा र वीरगञ्ज महानगरमा पनि नेपाल-खनाल समूहमा कमिटी गठन भएका छन्।

 

यस्तै, महिला, युवा, विद्यार्थी, खेलकुद र उत्पीडित जातीय संगठनका राष्ट्रिय भेलासहित केन्द्रीय कमिटी गठन भएका छन्।

 

देश-विदेशबाट सहभागी चार हजार एक सय ८५ जना कार्यकर्ताको उपस्थितिमा ४-५ चैतको राष्ट्रिय भेला तथा त्यसअघि र पछि भएका स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयहरूसमेत मातहत कमिटीहरूमा प्रेषित गर्न सर्कुलर जारी गरिएको हो। ‘अब सम्पूर्ण पार्टी पंक्ति यसैअनुसार परिचालित हुन निर्देशित गरिन्छ,’ सर्कुलरमा भनिएको छ।

 

नेपाल-खनाल समूहले ९ वैशाखमा पार्टी स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कमिटीको आयोजनामा काठमाडौं उपत्यकामा एमाले अध्यक्ष केपी ओलीले गरेको पार्टी विखण्डन र विर्सजनकारी कार्यविरुद्धमा विशेष कार्यक्रम गरिने सर्कुलरमा उल्लेख छ। सर्कुलरअनुसार सबै जिल्ला कमिटीले सोही प्रकारका कार्यक्रम आयोजना गर्ने भएका छन्।

 

यस्तै, १३ वैशाखमा १ नम्बर प्रदेश कमिटीको आयोजनामा विराटनगरमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवस तथा ३ जेठमा वागमती प्रदेश कमिटीको आयोजनामा चितवनमा २७ औँ मदन-आश्रित स्मृति दिवसमा विशेष कार्यक्रम आयोजना गरिने पनि सर्कुलरमा उल्लेख छ।

 

‘हाम्रो राष्ट्रिय कार्यकर्ता भेला र त्यसले गरेका निर्णयबाट अत्तालिएर केपी ओली गुटले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कथित स्पष्टीकरण सोध्ने र पार्टी सदस्यबाट निलम्बन गर्नेजस्ता हास्यास्पद कार्य गरेको छ,’ सर्कुलरमा भनिएको छ, ‘कथित स्पष्टीकरणको प्रत्युत्तरको रूपमा अध्यक्ष ओलीलाई नै प्रतिस्पष्टीकरण सोधिएको छ र कथित निलम्बनका विरुद्ध संयुक्त वक्तव्य जारी गरिएको छ। यी सबै सामग्री संग्रहित गरेर पुस्तिकाको रूपमा प्रकाशित गरी छिटै प्रेषित गरिने छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार