
काठमाडाै । नेकपा एमालेका नेता भीम रावलले एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल पक्षीय एमाले सांसदलाई पेल्ने नीति लिएको र प्रदेशमा पनि निषेधको राजनीति गरेको आरोप लगाउँदै रावलले यस्तै अवस्था रहिरहे देशभर कर्णालीको कदम चल्न सक्ने चेतावनी दिएका हुन् ।
धनगढीमा आयोजित शनिबार एक कार्यक्रममा बोल्दै उनले भने कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम देशभर चल्न सक्छ ।
रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्।
‘पार्टी जोगाउनका लागि, पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा त्यहाँका साथीहरूले साथ दिएका हुन्,’ उनले भने।
कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिऊ रोपिएको उनले बताए।







