
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले साँठगाठ गरेको आरोप लगाएका छन्।
पौडेलले देउवाले ओलीलाई हटाउन तदारूकता नदेखाएकोसमेत आरोप लगाएका छन्।
‘कम्युनिष्ट पार्टी विभाजित भएर अविश्वासको प्रस्ताव अघि बढाएका बेला कांग्रेसले (सत्ता) हान्नुपर्थ्यो’, पौडेलले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन्, ‘त्यो अवसर गुमाइयो। के हो भित्र साँठगाँठ, थाहा छैन।’
उनले कांग्रेसले केपी ओलीलाई राजीनामा गराउने र हटाउने निर्णय गरे पनि नेतृत्वले आलटाल गरेको आरोप लगाए।
‘पार्टीमा केपी ओलीलाई हटाउने निर्णय गर्ने अनि नेतृत्व आलटाल गर्ने काम भयो’, पौडेलले भनेका छन्, ‘संसद र संविधान माथि जसरी प्रहार गर्नुभयो। त्यो कदम गलत भएपछि तुरून्त प्रधानमन्त्रीलाई राजीनामा गर भन्नुपर्ने। राजीनामा नगरेको भए तुरून्त अविश्वासको प्रस्ताव पेश गर्नुपर्थ्यो। मेरो प्रयास त्यही रह्यो। अविश्वासको प्रस्ताव पेश गर्दिए। हाम्रो दायित्व पूरा हुन्थ्यो। जोखना हेर्दा पहिलो अवसर गुम्यो।’
उनले प्रधानमन्त्री ओलीलाई नकचरो भएको आरोप लगाएका छन्।
‘अदालतले संसद फर्काएपछि एक मिनेट पनि प्रधानमनत्री पदमा बस्न मिल्दैनथ्यो। उल्टो नकचरो भएर संसदको के काम यसले विकृति ल्याउँछ भनेका छन्’, पौडेलले अन्तर्वार्तामा भनेका छन् , ‘पार्टी सत्ता र राज्य सत्तामा रहेका मुठीभर नेताहरूले विकृति ल्याएका छन्। फ्रेस चुनावमा जानुपर्छ भन्ने प्रधानमन्त्री पोखरा, लुम्बिनी र केन्द्रमा के गर्दैछन्। अनहेल्दी अलाइन्स गर्दैछन्।’







