भोजपुर । सरकारले सुचीकृत गरेका एकसय पर्यटकिय गन्तव्यमध्ये पर्न सफल भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) कै काखमै अर्को एक सौन्दर्यता बोकेको पर्यटकीय गन्तव्य हो, महभिर झरना । पर्यटकिय गन्तव्यसंगै पर्यटकीय प्रच्यूर सम्भावना बोकेको यो झरना पनि टेम्केमैयुङ गाउँपालिकाको अर्को सुन्दरता झल्काउने स्थानको परिचय हो ।
छिमेकी जिल्ला खोटाङ्ग र भोजपुरको सिमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा विस्तारै बृद्धि हुन थालेको छ ।
कुनैबेला छिटफुट स्थानीयहरु घण्टौसम्म सुन्दरता हेरेर मोहित हुने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । झरनाको सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहिलाई पनि प्रफुल्लित तुल्याउने भोजपुर नगरपालिका बोखिमका आशिष राईले सुनाए । भने, ‘आहा टेम्केडाँडा घुम्न आएको यहाँ नआई भएन साथिहरुसंग । झरनाको सुन्दरता देखेपछि त जस्तै तनावहरु पनि एकछिनमै चट् हुने रहेछ ।’

सामान्यतया जिल्लाभित्रका अधिकांश मानिसहरु क्याम्पिङ, भ्रमण, पिकनिकका लागि टेम्केडाँडा आउने गर्छन् । तर पछिल्लो समय यहाँ आउने पर्यटकहरु झरनाको मोहकताको अवलोकन गर्ने अर्को बाहना बन्न थालेको छ । पौवादुङ्मा गाउँपालिका च्याङ्ग्रेका मोहन दुरालले परिवार, साथिभाईसंग टेम्केडाँडाको घुम्न आउँदा झरनाको पनि सौन्दर्यताको स्वाद नचाखी जान मनले नदिने अनुभव व्यक्त गरे । छिमेकी जिल्ला खोटाङ्ग र भोजपुरको सिमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा विस्तारै बृद्धि हुन थालेको हो ।
करिब १५÷२० मिटरको उचाईको भिर हुदै झर्ने झरनाको भिर मौरीको गोलाजस्तै देखिन्छ । झरना हेर्न आउने मानिसहरुले भिर मौरीको समेत दृश्य हेर्न सक्छन । स्थानीयका अनुसार भिरमा भिर मौरी समेत पाइने भएको कारण वर्षौ पहिलेदेखि यो झरनालाई महभिर झरना भन्ने गरेको कथन छ । गाउँपालिकाको केन्द्र अन्नपूर्णदेखि करिब ३ किलोमिटरको दुरीमा रहेपनि पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको स्थानीय सरोज बस्नेत बताउँछन् ।
झरनालाई अझै पर्यटकीय आकर्षणको रुपमा कृत्रिम सौन्दर्यता थप्न आवश्यक पूर्वाधारको विकास गरिनुपर्ने गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । ‘झरनालाई पर्यटकको भ्रमण थलो बनाउन अझै व्यवस्थित भौतिक पूर्वाधारको निर्माण गर्न आवश्यक छ ।’ उनले भने, ‘झरना आकर्षक बनाउन पानीको वहावलाई कुलोमार्फत ल्याउँदा झरना ६५ मिटर अग्लो र झनै आकर्षक बन्छ । गाउँपालिकाले यसका लागि आवश्यक श्रम, लागत जुटाउने प्रयास गर्नेछ ।’ गाउँपालिकाले आर्थिकवर्ष ०७६÷७७ को बजेटबाट पर्यटकलाई झरना स्थलसम्म आईपुग्ने बाटो, घेराबारा, पाटीपौवा लगायतका पूर्वाधार निर्माणका लागि ६ लाख बजेट समेत विनियोजन गरेको थियो ।
मध्यपहाडी लोकमार्ग अन्र्तगतको पुष्पलाल मार्गबाट नजिक भएकाले पनि वर्षातमा भन्दा हिउँदमा पर्यटकहरुको आवतजावत हुने गरेको छ । सडक सञ्जाल पुगेकाले पनि पर्यटनको धेरै सम्भावना भएको गाउँपालिकाकाका प्राविधिक जितेन्द्र अधिकारी बताउँछन । उनका अनुसार झरनाको आवश्यक पूर्वाधार निर्माणको काम चाँडै सुरु हुने भएको छ ।







