प्रबद्र्धनको पर्खाईमा ‘सुन्तले डाँडा’

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिकास्थित प्रशिद्ध पर्यटकीय गन्तव्यस्थल सुन्तलेडाँडा क्षेत्र । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । रामप्रसाद राई गाउँपालिका भुल्केका रवि राई भोजपुर सदरमुकाम बस्न थालेको ९ वर्ष भयो । सदरमुकाममा उनको एउटा फोटो स्टुडियो र ईलेक्ट्रिक सामानको पसल छ । कामको बोझ हल्का गर्न उनको परिवार र अन्य साथिहरु सातादश दिनको अन्तरालमा अनिवार्य ‘सुन्तलेडाँडा’ पुग्छन् । त्यहाँको चिसो हावा, सौन्दर्य र मिठो अतिथि सत्कारमा जो कोहि पनि लोभ्याउने गर्छ । सुन्तले डाँडाको सौन्दर्य र चिसो हावापानीले मानसिक बोझ पनि हल्का गरेको उनी सुनाउँछन् ।
रवि जस्तै स्थानीय भोजपुर सदरमुकामबासी र आसपासका सर्वसाधरणको पहिलो रोजाई हो ‘सुन्तलेडाँडा’ । सुन्तलेडाँडा सदरमुकामदेखि ११ किलोमिटर दुरीमा पर्छ । भोजपुर नगरपालिकाको वडा नं २, ३ र ५ को सिमानामा रहेको यो डाँडाबाट मकालु हिमश्रृङ्खला दृश्य देख्न पाईन्छ । प्रायशः बजारबासी र स्थानीयहरु हिमालको सुन्दर अवलोकन गरेर भरपुर आनन्द लिनलाई पनि यहाँ आउने गरेको स्थानिय छिरिङ शेर्पा बताउँछन् । यसबाहेक अरुणनदी, धनुकुटा लेगुवाबजार, मैयुङ डाँडा, टेम्केडाँडा, भोजपुर सदरमुकाम, दक्षिणी भेगको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
सरकारले एकसय नयाँ पर्यटकीय गन्तव्यको रुपमा भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) लाई सुचिकृत हुने सौभाग्य पायो । तर टेम्केडाँडा जस्तै पर्यटन प्रबद्र्धनका प्रच्यूर सम्भावना र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बोक्ने स्थलमध्ये एक सुन्तलेडाँडालाई पछाडी राखिएकोमा स्थानीयबासी गुनासो गर्छन् । भोजपुर नगरपालिका बोखिमका पृतीराज राई भन्छन्, ‘सुन्दर स्थलहरु पनि भोजपुरमा धेरै छन् । तर पहिचान गर्न र प्रबद्र्धन गर्न नसक्नाले सुन्तलेडाँडा लगायत दर्जनौ स्थलहरु अझै ओझेलमा परिरहेका छन् ।’
भोजपुर सदरमुकाम र संखुवासभा जोड्ने प्रमुख व्यापारिक केन्द्र दिङ्लाबजार जोड्ने सडकसञ्जालको विस्तारसंगै यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । चहलपहल बढेसंगै घुम्न आउने आगन्तुका लागि खान, बस्नको सुविधासहित होटल, लजहरु खोलिएका छन् । उत्तरी भेगका मानिसहरुको प्रमुख पैदलमार्ग पनि भएकाले सुन्तलेडाँडा उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका हो । आर्थिक वर्ष ०७३÷७४ मा नगरपालिकाले यहाँको कच्ची सडकलाई स्तरोन्नती गरेर तीन लेनको बाटो बनाएको छ । यहि रुट हुँदै सदरमुकामदेखि दिङ्लासम्म ल्याण्डरोभर जिप, यात्रुबस लगायतका सवारीसाधनहरु दिनहुँ कुद्ने गर्छ ।
पर्यटनको प्रच्यूर सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले चासो नदिँदा सुन्तलेडाँडा प्रबद्र्धन हुन सकेको छैन । सुन्तलेडाँडालाई सुन्दर र व्यवस्थित बनाउन योजना बनाएरै बजेट निकासा गरेर पर्यटनलाई व्यावसायिक बनाउन सहज हुने भोजपुर नगरपालिका वडा नं ५ बोखिमका अध्यक्ष जस बहादुर राई बताउँछन् । ‘सुन्तले डाँडाका लागि सम्बन्धित निकाय, वडा तथा नगर परिषदबाट बजेट निकासा गर्ने तयारीमा छौँ ।’ उनले भने, ‘योजनासहितको बजेट निकासा गरेर घेराबारा, ठाउँठाउँमा पिकनिक स्पट, लज, सुलभ होमस्टे राखेर यसलाई व्यावसायिक बनाउन सकिन्छ ।’
चैतबैशाखको बसन्त, साउनभदौको हरियाली बनजंगल र चउर डाँडा, कार्तिक मंसिरको खुल्ला शरद र माघमा पर्ने हिमपातका बेला अति मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको निकै चहलपहल हुन्छ । पर्यटन व्यावसायलाई प्रबद्र्धन गर्नसके यो डाँडामा आन्तरिक अलावा बाह्य पर्यटकको राम्रो आगमन हुने स्थानिय सुन्तलेबजारमा विगत ५ बर्षदेखि होटल व्यावसाय गर्दै आएका गणेश तामाङ बताए । उनले भने, ‘बर्षेनी विभिन्न शिर्षकमा छुट्टिने बजेटको केहि हिस्सा पर्यटन प्रबद्र्धनका लागि छुट्याएर व्यवस्थित रुपमा काम गर्नसके यहाँको पर्यटन फस्टाउन सक्थ्यो । यसमा कसैको ध्यान छैन, वडापरिषदमा हामीले उठाएका कुरा कसैले सुन्दैनन् । यहि छ बिडम्बना ।’
गतसाल मात्रै नयाँवर्ष, पार्टी, भोजभतेर, पिकनिकका लागि आउने आन्तरिक पर्यटकहरुका लागि भनेर आठ लाखको लगानीमा पिकनिक पार्क बनाईएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यले गत ०७४ असारमा स्थानिय पान्थले सामुदायिक वनको करिब १४ रोपनी जग्गामा पार्क निर्माण गरिएको थियो ।
तात्कालिन जिल्ला बनको बृक्ष सुधार, बृक्षारोपण तथा निजी बन कार्यक्रम (०७३÷७४) अन्र्तगतको आठ लाख बजेटमा पार्कको बनाईएको थियो । पार्कभित्र बस्ने, शित्तल छल्ने पाटी–चौतारी, भोजभत्तेरका लागि आवश्यक चुल्होचौका, खानेपानीको लागि हिल्टेक धारो, चर्पी, सुन्दर सफा खुल्ला चउर, वरपर तारघेराबारा गरिएको छ । सुन्तलेडाँडालाई ‘सुन्तले बजार’ भनेर परिचित यो ठाउँमा करिब २४ घरधुरी बसोबास गर्छन् । साथै अधिकांशले होटल तथा थोककिराना पसल खोलेर बसेका छन् । समुन्द्री सतहदेखि सरदर २६ सय मिटरको उचाईमा रहेको यो ठाउँ बाह्रैमहिना प्रायसः चिसो हुन्छ । गर्मी र विभिन्न घुम्ने बाहनामा पर्यटकहरु यहाँको चक्कर लगाउने गरेका छन् ।

भोजपुर नगरपालिकास्थित प्रशिद्ध पर्यटकीय गन्तव्यस्थल सुन्तलेडाँडा क्षेत्र । तश्विर, प्रदीपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार