
नेपाली सांगीतिक क्षेत्रमा गायक तारा लम्सम लिम्बु परिचित नाम हो । धेरै आधुनिक गीत गाइसकेका तारा लक्सम लिम्बु नेपाली रियलटी सो ‘‘नेपाली तारा’’ सिजन २ का फस्ट रनरअप हुन । नेपाली ताराले नै उनलाई आमदर्शक सामु परिचित गराएको थियो । नेपालको पुर्वी झापामा जन्म भएका तारा लक्सम लिम्बु २०६४ मा ‘‘नेपाली तारा’’मा प्रतिस्पर्धा गरेका थिए । नेपाली तारामा उनको सहभागितापछि आमदर्शकले उनको स्वरलाई मनपराए । उनले “माया छ्यास्छ्यास्ती’’, “मखमली चोली’’ र “बल्छी’’ गरी तीन वटा सोलो ‘एल्बम’ लगायत दर्जनौ सोलो म्युजिक भिडियो र धेरै संख्यामा गीतहरु गाइसकेका छन । मर्मस्पर्शी र कर्णप्रिय गीत गाउने तारा शान्त, सरल र लजालु स्वाभावका छन । नेपाली तारामा फस्ट रनरअप भएपछि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तारा लक्सम लिम्बु विगत केही समयदेखि बेलायत बस्दै आएका छन । बेलायतको बसाईसंगै उनको सांगीतिक यात्रा भने निरन्तर चलिरहेको नै छ । सांगीतिक यात्राको विगत र बर्तमान अवस्थाबारे गायक तारा लक्सम लिम्बुसंग सिलिचुङ अनलाइनका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
१. संगीतमा कसरी लाग्नुभयो ? के कुराले संगीतमा लाग्ने उत्प्रेरणा जाग्यो ?
सानै उमेरमा मलाई गीत संगीत सुन्दा आनन्द महशुस हुन थाल्यो । मैले थोरै रुपमा भएपनि गीत संगीत बुझ्न थाले । त्यसपछि आफै बिस्तारै स्रष्टाहरुको गीतलाई पछ्याउदै गुनगुनाउन थाले । गीत गुनगुनाउन थालेपछि मलाई आफ्नो आवाज मन पर्न थाल्यो । परिवार साथीभाईहरुले गीत गाउनका लागि हौसला दिन थाल्नुभयो । यद्यपी परिवारमा मेरो जेठा दाई धेरै राम्रो गीत गाउनु र लेख्नुहुन्थ्यो । तर पारिवारिक अवस्थाले उहाँ परदेशीनु भयो । उहाँले आफ्ना अपुरो रहरहरुलाई पूरा गर्न मलाई धेरै साथ, सहयोग र हौसला सदैव दिईरहनुभयो । तिनै कुराहरुले मलाई नेपाली संगीत क्षेत्रमा लाग्ने प्रेरणा र माध्यम बन्यो ।
२. नेपाली ताराको दोस्रो सिजनमा फस्ट रनरअप हुनु भन्दा अगाडीका दिनहरुमा तपाईको सांगीतिक गतिविधिहरु कस्तो थियो ?
मैले स्कुले जीवनमा त्यति धेरै सांगीतिक प्रस्तुतिहरु दिन पाइन । किनभने त्यो बेला म अलिक लजालु स्वभावको थिएँ । अहिले सम्झदाँ धेरै खुलेर बोल्न नसक्ने, प्राय एक्लै भएको समयमा बेस्सरी गीतहरु गाउने र आफै रमाउने गर्थे । साथै अध्ययनलाई पनि ध्यान दिनुपर्ने हुन्थ्यो । एसएलसीमा राम्रो अंक ल्याउन बेलैदेखि तयारी हुनु पर्ने हुन्थ्यो । घर परिवारले पनि एसएलसीपछि मात्रै म्युजिक सिक्न जानका लागि अनुमती दिने कुरा भयो । कलेज अध्ययनसंगै झापाको बिर्तामोडमा मैले म्युजिक पनि सिक्न थाले । बिस्तारै आफुमा अझ धेरै आँट बढ्न थाल्यो । त्यसपछी कलेज र झापामा हुने धेरै कार्यक्रमहरुमा गीतहरु गाउन थाले । सोही क्रममा नेपाली तारा रियालिटी सो शुरु भयो र भाग लिए ।

३. नेपाली तारामा के सोचेर प्रतिस्पर्धा गर्नुभएको थियो ? प्रतिस्पर्धामा सहभागी भइसकेपछि कस्तो अनुभुति भयो ?
नेपाली तारा सो हुँदै छ भन्ने कुरा थाहा पाएपछि एकपटक अनुभवका लागि भएपनि भाग लिनुपर्छ भन्ने लाग्यो । गाउँदेखि म्युजिक क्षेत्रमा संघर्ष गर्दै गरेको आफुमा भएको कलालाई सारा नेपालीसम्म पुर्याउनु र सबै सामु आफुलाई चिनाउने धोका थियो । अर्को यो मेरो लागि राम्रो अवसर पनि थियो । प्रतिस्पर्धामा सहभागी भैसकेपछि म भित्र अझै हौसला बढेर आयो । सिङ्गो नेपाली गीत संगीतप्रतिको जिम्मेवारी थपिए झै भयो । अझ धेरै सिक्नुपर्छ र नेपाली गीत संगीतलाई फराकिलो बनाउदै लैजानुपर्छ भन्ने महसुस भयो ।
४. नेपाली तारामा फस्ट रनरअप भएपछि धेरै दर्शकस्रोता सामु चिनिनुभयो ? आफुलाई नेपाली ताराले कतिको चिनायो जस्तो लाग्छ ?
मेरो आवाजलाई सम्पुर्ण नेपाली दर्शक श्रोताहरुले मन पराइदिनु भयो । मलाई धेरै भन्दा धेरै भोट गरेर फस्ट रनर अप बन्नसम्म सहयोग गर्नुभयो । यो नै मेरो परिचय बन्यो । यसको लागि गीत संगीतलाई माया गर्नुहुने सम्पुर्ण लगायत नेपाली तारा आयोजक प्रति आभारी छु ।

५. तपाई नेपाली ताराको फस्ट रनरअप नभएको भए तपाईको सांगीतिक यात्रा कसरी अगाडी बढथ्यो ?
फस्ट रनरअप नभएको भए पनि म मेरो संगीत यात्रालाई निरन्तरता दिईरहने थिए । विभिन्न स्टेज सोहरुमा भाग लिने अनि आफ्नै नयाँ नयाँ गीतहरु दर्शक श्रोतामाँझ ल्याइरहने थिए ।
६. नेपाली ताराको पहिलो सिजनमा तपाई टप–२० सम्म पुग्नु भयो, दोस्रोमा फस्ट रनरअप मात्रै हुनुभयो । नेपाली तारामा पहिलो हुनका लागि गर्नुभएको निरन्तर प्रयास सार्थक नवन्दा कस्तो अनुभुती गर्नुभएको छ ?
प्रतिस्प्रर्धाको हिसाबले हेर्दा फस्ट हुन नसकेकोमा दुख त लाग्छ । स्वास्थ्य समस्याका कारण पहिलो नेपाली ताराको सिजनमा टप–२० मै चित्त बुझाउनु पर्यो । सिजन–२ मा फस्ट नै हुन्छु भनेर मेहनत पनि गरेकै हो । प्रतिस्पर्धामा एक हारेर नै अर्को प्रथम हुने हो ।
७. नेपाली ताराको फस्ट रनरअपपछि तपाईले कति गीतहरु दर्शक सामु ल्याउनु भयो ?
नेपाली तारा रियलिटी सो पछि मैले “माया छ्यास्छ्यास्ती’’, “मखमली चोली’’ अनि “बल्छी’’ गरि ती वटा मेरो सोलो ‘एल्बम’ अनि अहिले कम्तिमा पनि बर्षमा २ देखि ३ वटा सोलो म्युजिक भिडियो र अरु फुटकर गीतहरुको काम गरिरहेको छु ।
८. गीत गाउदाँ कस्तो अनुभुति गर्नुहुन्छ ? तपाईको विचारमा गीत संगीतले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ जस्तो लाग्छ ?
गीत गाउँदा मलाई एकदमै आनन्द र रमाइलो लाग्छ, चाहे त्यो जुनसुकै बिधाको गीत किन नहोस प्राय: गीतहरु गुन–गुनाई रहेको हुन्छु । गीतभित्रै आफुलाई हराईरहन्छु । सायद गीत संगीत मन नपराउने कोही पनि हुन्न । हरेक मानिसलाई गीत संगीतले कहीँ न कहीँ प्रभाव पारिरहेको हुन्छ । धेरै मानिसलाई त यसले औषधी कै काम गरिरहेको हुन्छ ।
९. तपाई विगत केही समयदेखि बेलायतमा हुनुहुन्छ ? तपाईको गायन यात्रा कसरी अगाडी बढिरहेको छ ?
केही बर्ष यतादखि बेलायतमा बसिरहेको छु । परदेशको व्यस्त जीवन, सधै काम गर्नुपर्ने चटारोको बाबजुत पनि फुर्सदको समय, बिदाको दिनहरुलाई म गीत संगीतमा नै बिताउने गर्छु । होम रेकर्डिङ स्टुडियो भएकाले आफ्ना कामहरु सबै यहि गर्छु ।
१०. बेलायतस्थित नेपाली गीत संगीत विकासमा यहाँको योगदान कस्तो रहन्छ ?
बेलायतमा नेपाली गीत संगीतलाई माया गर्ने अग्रज कलाकारहरु धेरै हुनुहुन्छ, साथै मेरा साथीभाईहरु पनि हुनुहुन्छ । र म पनि केही बर्षदेखि बेलायत बस्दै आएको छु । आशा छ हामी सबै कलाकारहरु एकजुट भएर नेपाली गीत संगीतलाई अझ फराकिलो बनाउदै लैजान अटुट प्रयास गरिरहने नै छौ ।
११. बेलायतमा नेपाली गीत संगीतको अवस्था कस्तो पाउनुभएको छ ?
बेलायतमा नेपाली गीत, संगीत र कला साहित्य बिकसित हुँदै गइरहेको देख्छु । अहिले गीतकार, संगीतकार, गायक, गायिका, कवि, साहित्यकार तथा नृत्यकार सबै हुनुहुन्छ । ठाउँ ठाउँमा रेकर्डिङ स्टुडियो अनि म्युजिक स्कुलहरु पनि छन । हरेक समय ठुलठुला कार्यक्रम भैरहन्छन । अब अहिलेको समय पहिले जस्तो छैन । संसारको जुनै स्थानबाट पनि हरेक क्षेत्रमा सहजै काम गर्न सकिने अवस्था सृजना भैसकेको छ ।
१२. यदी तपाई नेपाली तारामा सहभागी नभएको भए अहिलेको अवस्थामा जस्तै गरी सांगीतिक यात्रा अगाडी बढने कतिको देख्नुहुन्थ्यो ?
गीत संगीत भन्दा अन्त जानै सकिएन । नेपाली तारामा सहभागी नभएको भएपनि म नेपाली गीत संगीतमा नै काम गरिरहेको हुने थिए । साथै भविष्यमा पनि गरिरहने नै छु ।
१३. तपाईको भावी सांगीतिक यात्रा कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
खासै ठुला योजनाहरु त छैन, तर पनि दर्शक श्रोताहरुको मन जित्ने खालका राम्रा राम्रा गीत, म्युजिक भिडियोहरु लिएर आउने सोच बनाएको छु र काम नि गरिरहेको छु ।









