
भोजपुर । समयमै कोरोना परिक्षण नहुँदा षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमित एकपछि अर्को गर्दै भेटिएपछि उक्त वडाको मझुवाबेसी र सोमबारेका करिब ६० घरधुरी संक्रमणबाट प्रभावित बनेका छन् ।
३ दिनअघि काकाको मृत्यूसंस्कार सकेर झापाबाट फर्किएका स्थानीय हरिहर गौतम र उनकै सम्पर्कमा आएका अर्का स्थानीय तेजबहादुर राईमा कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिएको हो । संक्रमित गाउँ प्रवेश गर्नुपूर्व गाउँमा सचेतना, पूर्वतयारी र परिक्षणमा ढिलाई भएकाले कोरोनाको त्रास भयावह बनेको मझुवाबेसीका स्थानीय सौगात गौतम बताउँछन् ।
करिब ६० घरधुरी रहेको उक्त गाउँमा संक्रमणको डरले खेतबारीको काम थाती राखेरै घरमै बसेका छन्
वडा र स्थानीय प्रशासनको ढिलासुस्तीका कारण समुदायस्तरमै कोरोना फैलिएको उनले बताए । ‘वडाध्यक्ष र स्थानीय प्रशासनले यसको व्यवस्थापनमा बेलैमा सोच्नुपर्ने हो, खासै चासो देखाउनु भएन’ उनले भने, ‘शून्य पूर्वतयारीले संक्रमणको दर बढ्ने भएकाले गाउँमा सुरक्षित वातावरण छैन, गाउँमा त्रास बढेको छ, ज्यानै जोखिममा परेको छ’
एकातिर गाउँमा त्रास अर्कोतिर आवश्यक सहज सडकको पहुँच नहुँदा शंकास्पद विरामीको उद्वार गर्न समेत समस्या भएको अर्का स्थानीय सुजन भुजेलले सुनाए । उनका अनुसार स्वास्थ्य चौकी धाउन समेत समस्या भईरहेकाबेला गाउँमा संक्रमित भित्रिएपछि झनै जोखिम बढेको छ । करिब ६० घरधुरी रहेको उक्त गाउँमा संक्रमणको डरले खेतबारीको काम थाती राखेरै घरमै बसेका छन् । जसले खेतीपातीको काम नै ठप्प भएको उनले बताए ।
यता वडाले सिंगो वडा सिल गरेको छ । साथै गाउँबासीलाई सुरक्षितका साथ घरमै बस्न निर्देशन दिएको छ । वडाध्यक्ष रामेश्वर भण्डारीले संक्रमितको सम्पर्क आउने व्यक्तिहरु थुप्रै रहेको र किट अभावका कारण सबैको पिसिआर परिक्षण गर्न असमर्थ रहेको बताए । भने, ‘हामीसंगै अहिले मात्रै १२ जनालाई पुग्ने परिक्षण किट छ, कन्ट्याक्ट टे«सिङ गर्दा गाउँका सबैजसोको पिसिआर टेस्ट गराउने पर्ने हुन्छ, तर किट अभावले सबैको परिक्षण गर्न असमर्थ भएका छौँ, सम्बन्धित निकायले पनि सहयोग गरेको छैन’ वडाका अनुसार संक्रमित पुष्टि भएकालाई षडानन्द नगरपालिका दिङ्लास्थित तयार भएको कोभिड अस्पतालमा लगिने व्यवस्था गरिएको छ ।
अहिले विशेषगरि गाउँमा बृद्धबृद्धा र बालबालिका उच्च जोखिममा छन् । पूर्व सावधानी नअपनाउँदा यस्तो भयावह वातावरण सिर्जना भएको स्वास्थ्य चौकी नेपालेडाँडाका अहेब राजु योगीले बताए । स्वास्थ्य चौकी पुग्ने बाटो र सडकको सहज पहुँच नहुँदा यहाँका स्थानीयबासी झन मारमा परको उनले बताए । पछिल्लो अपडेट अनुसारको भोजपुरमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।







