
भोजपुर । गत जेठ २६ मा टेम्केमैयुङ गाउँपालिका ६, कोटका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको होमआइसोलेसनमा मृत्यू भयो । त्यस्तै जेठ २९ मा रामप्रसादराई गाउँपालिका ६, वैकुण्ठेको कोभिड अस्पतालमा उपचाररत अर्का ३६ वर्षिय पुरुषको पनि ज्यान गयो । केहि साता अघिमात्र उत्तरी षडानन्द नगरपालिका १, नेपालेडाँडा मझुवाबेँशीको सिंगो गाउँ नै कोरोनाले थलिए । सिल गरियो । जिल्लाभर निषेधाज्ञा गरिएपनि स्वास्थ्य मापदण्ड लागू नहुँदा भोजपुरका ग्रामीण क्षेत्रमा संक्रमणदर बढेको छ । विशेषगरि कामका शिलशिलामा जिल्ला बाहिर रहेका मानिसहरु लकडाउन सुरु भएपछि गाउँ फर्किएपछि संक्रमण फैलिएको हो ।
कोभिड १९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिँदा भाइरल ज्वोरो ठान्ने अधिकांश ग्रामीण क्षेत्रका मानिसहरुलाई परिक्षण गराउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ
स्वास्थ्य मापदण्डको ज्ञान नहुँदा शहरबजारमा भन्दा गाउँमा संक्रमण बढेको छ । गाउँमा स्वास्थ्य सुरक्षाको कुनै आत्मानुभूति नहुनुले पनि संक्रमण फैलिएको चिकित्क विपना राईले सुनाईन् । ‘गाउँका मानिसहरु संक्रमणको विषयमा अनविज्ञ र सानातिना रोगविमारलाई वेवास्ता गर्ने बानीले को कहाँबाट गाउँ पस्यो, कतिजनासंग साथसम्पर्कमा रह्यो कुनै जानकार छैन, जसकारण कोभिड संक्रमण गाउँगाउँ फैलिएको छ’ उनले भनिन् ।
पछिल्लो तथ्याङ्क अनुसार ९ स्थानीय तहमध्ये साल्पासिलिछो गाउँपालिकामा सबैभन्दा बढि एकसय ६१ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिकामा एकसय ४५, हतुवागढी गाउँपालिकामा एकसय ४५ र अरुण गाउँपालिकामा एकसय ३० जना संक्रमित छन् । सदरमुकाम रहेको भोजपुर नगरपालिका र प्रमुख व्यापारीक नाका रहेको दिङ्लाक्षेत्रमा संक्रमणदर अन्य स्थानीय तहको भन्दा कम छ । सदरमुकाम, प्रमुख सिमानाका, हाटबजार र सार्वजनिक स्थानहरुमा निषेधाज्ञा गरिएका छन् । निको हुने भन्दा संक्रमितको संख्या दिनानुदिन बढेकाले होमआईसोलेसनमै सुरक्षित बस्न प्रशासनले निर्देशन लागू गरेको छ । कोभिड १९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिँदा भाइरल ज्वोरो ठान्ने अधिकांश ग्रामीण क्षेत्रका मानिसहरुलाई परिक्षण गराउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले बताए ।
उनले भने, ‘अधिकांश केसहरुमा वर्षायामसंगै सुरु भएको भाईरल ज्वरो र टाईफाईड ठानेर सामान्य लिँदै असुरक्षित तरिकाले घरमै बस्नेहरुको परीक्षण गराउँदा कोरोना भेटिएको छ’ जिल्लाभर निषेधाज्ञा गरिएपनि आवश्यक कामले छिटफुट हिँडडुल गरिरहने सर्वसाधरण र संक्रमितको सम्पर्कमा आउने व्यक्तिबाट जोगिनै समस्या थपिएको छ । दोश्रो भेरियन्ट कोरोना संक्रमणले ५ जनाले ज्यान गुमाईसकेका छन् ।
ग्रामीण भेगमा स्वास्थ्य सावधानी नअपनाउनाले संक्रमण बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसकारण अहिले शहरबजारमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो । जोखिमलाई विशेष ध्यानमा राखेर स्थानीय तहहरुले प्रत्येक वडातहहरुमा शंकास्पदहरुको एन्टिजेन्ट परिक्षण गराउन स्वास्थ्यकर्मीको टोली खटाएको छ । शंकास्पद संक्रमितको पहिचान र जोखिम न्यूनीकरण गर्ने प्रयास भईरहेको भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईले सुनाईन् । भनिन्, ‘गाउँमा कोरोना कसलाई छ भने यकिन छैन, कमसेकम शंकास्पद विरामीको पहिचान भयोभने गाउँमा स्वास्थ्य सतर्कता अपनाउने विकल्प बन्छ भनेरै हामीले स्वास्थ्यकर्मी खटाएका छौँ’
जिल्लाका धेरै ग्रामीण समुदायमा कोभिड टेस्ट गर्दा ठूलो संख्यामा भाइरस संक्रमण भेटिएको छ । संक्रमित व्यक्ति सुरक्षितसँग नबस्दा अन्य व्यक्तिमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड जाँच गर्ने एन्टिजेन्ट र स्वाब किटहरु पनि पर्याप्त नहुँदा कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गराउन समस्या भएको जिल्ला अस्पताल भोजपुरका निमित्त प्रमुख डा. अमितेश राज पाण्डेले बताए ।
कोरोना संक्रमणका कारण केहि स्थानीय तहका कार्यसम्पादनहरु प्रभावित बने । आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधी र कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना लागेपछि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको थियो । यस्तै टेम्केमैयुङ गाउाँपालिका र पौवादुङमा गाउँपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै अत्यावश्यक कामबाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । एम्बुलेन्स, स्वास्थ्य सेवा, सुरक्षा, खानेपानी, विद्युत सेवा लगायत अति संवेदनशिल सेवाबाहेक अन्य सेवाहरुमा सुरक्षा मापदण्ड गरेर सिमित समयावधिमा सञ्चालन गरिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रणध्वज आङबोहाङले बताए ।







