
लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक भव्य समारोहको वीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो ।
गैर–आवासीय नेपाली संघका अभियन्ताहरु, बेलायतस्थित नेपाली समाज सम्बद्ध संघ संस्थाहरुका अध्यक्षतथा पदाधिकारीहरु, जातीय तथा क्षेत्रीय संस्थाका प्रमुखहरु, भूतपूर्व ब्रिटिश गोर्खा सम्बद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, गैर–आवासीय नेपाली संघ, आइसीसीका सदस्यहरु तथा यूरोप क्षेत्रीय समितिका पदाधिकारीहरुसहित बेलायतका पञ्जीकृत सदस्यहरु तथा शुभेच्छुकहरुको सहभागितामा आयोजित समारोहमा गाहा मगरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए (एनसीसी) यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि नेतृत्व चयनका लागि यही ३१ जुलाईमा निर्वाचन हुँदै छ ।
साढे दुई दशक लामो बेलायत बसाई र त्यसक्रममा एनआरएनए अभियानमा सहभागी भई हालसम्म गरेका कामहरुको आधारमा एनसीसीलाई नयाँ दिशा प्रदान गर्ने र सबैले विश्वास गर्ने संस्था बनाउने प्रतिबद्धता सहित गाहा मगरले उम्मेदवारी घोषणा गरेका हुन् ।
सात–बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा गरेका गाहा मगरले संस्थालाई पारदर्शी बनाउने, पूर्व गोर्खाहरुको समस्या समाधानमा नेतृत्वदायी पहल गर्ने, नेपाल हाउस परियोजनालाई पूर्णता दिने, नेपाली नागरिकता निरन्तरता र नेपालस्थित पुख्यौली सम्पत्ति माथिको अधिकार, नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवर्द्धन, संस्था सुदृढीकरण तथा सदस्यताका लागि नयाँ प्रावधान, युवा तथा महिलाको उत्साहजनक सहभागिता र सशक्तीकरण लगायतका मुद्दालाई आफ्नो कार्ययोजनामा समेटेका छन् ।
आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै गाहा मगरले भने, ‘संस्थाको पारदर्शिता र सुदृढीकरणसहितका मेरा अजेण्डा मेरा मात्रै नभएर समग्र एनआरएनएका सदस्य र प्रवासी नेपालीहरुका अजेण्डा हुन् । यसमा सबैको साथ, सहयोग र समर्थन प्राप्त हुने छ भन्ने विश्वास लिएको छु ।’
समाज सेवा लिनका लागि नभई योगदान दिनका लागि हो भन्ने कुरामा आफू पूर्ण जानकार रहेको बताउँदै गाहा मगरले आगामी दुई वर्षका लागि सातै दिन चौबीसै घण्टा एनआरएनए र सामाजिक कार्यमा संलग्न रहने उनले घोषणा गरे ।
तमू समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वर्तमान अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले भने व्यस्ततकोका कारण टेलिफोन मार्फत शुभकामना दिएका थिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष सहारा यूकेको संस्थापक अध्यक्ष नविन गुरुङ र गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओम थापा काउचाले पनि शुभकामना व्यक्त गरेका थिए ।
घोषणासभाको अध्यक्षता गरेका एनआरएनए अभियन्ता शेरबहादुर सुनारले एनआरएनलाई सही दिशा दिन प्रेम गाहा मगर नै उपयुक्त व्यक्ति रहेको बताए । ‘हाम्रो एनआरएन, राम्रो एनआरएन’ बनाउन र राम्रो समाज निर्माणका लागि सहमति उपयुक्त विकल्प रहेको बताउँदै कसैको उक्साहटमा नलाग्न उनले सुझाव दिए ।
केही व्यक्तिहरुको उक्साहट र सिण्डिकेटका कारण समस्या आइरहेको बताउँदै सुनारले वास्तवमै सबैको साझा संस्था बनाउन अब ढिलाइ गर्न नहुने बताए ।
निर्वाचन समितिलाई खबरदारी
घोषणासभामा सहभागीमध्ये अधिकांश वक्ताहरुले निर्वाचन समितिको क्रियाकलापप्रति आशंका व्यक्त गरे । निर्वाचन समितिको गठनदेखि नै निष्पक्ष निर्वाचन हुनेमा आशा कम देखिएको भन्दै सहभागीहरुले उम्मेदवारी दर्ता गर्ने दिन निर्वाचन समितिले चुनावी कार्यतालिका स्थगित गरेर अलोकतान्त्रिक काम गरेको बताए ।
पूर्व उपाध्यक्ष शेर सुनारले सदस्यता आवेदनको समयदेखि नै अनियमितता गरिएको भन्दै अहिले आएर उम्मेदवारी दर्ता गर्ने दिनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका स्थगित गरेर के गर्न खोजेको हो भन्ने प्रश्न गरे ।
त्यस्तै, नेपाली प्रवासी मञ्च, यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले निर्वाचन समितिले नै कुनै एक व्यक्तिलाई जिताउन षड्यन्त्र गर्न त खोजिरहेको छैन भन्ने आशंका पैदा भएको भन्दै स्वतन्त्र र निस्पक्ष रुपमा काम गर्नआग्रह गरे ।
सभामा व्यापक सहभागिता, उत्साहजनक समर्थन
उम्मेदवारी घोषणासभामा व्यापक सहभागिता देखिएको थियो । झण्डै पाँच घण्टा चलेको घोषणासभा तथाशुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संस्था र क्षेत्रको प्रतिनिधित्व गर्दै ७० जना भन्दा बढीले शुभकामना दिए ।
शुभकामना दिँदै वक्ताहरुले प्रेम गाहा मगरले अघि सारेका अजेण्डा र प्रतिबद्धता उचित रहेको भन्दै त्यसलाई कार्यान्वयनका लागि गाहा मगरलार्ई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए ।
गुल्मी समाजका अध्यक्ष टोप पल्ली मगर, तमु धीं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ, यूकेका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, एनआरएनए युकेका पूर्व उपाध्यक्ष राष्ट्र राई, नेप्लिज यूथयूकेका अध्यक्ष धिरज राई, नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका अध्यक्ष बलबहादुर थापा, मोना यूकेकाअध्यक्ष दल जुग्जाली, गोर्खा समाजका अध्यक्ष कर्ण दर्लामी मगर र बाग्लुङ समाजकी अध्यक्ष छबिमाया पुनले गाहा मगरलाई संस्थागत समर्थन रहेको स्पष्ट पारेका थिए ।
त्यस्तै, शुभकामना दिँदै साझा नेपाली समाजका अध्यक्ष कृष्णप्रसाद शर्मा, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष खडक जित गुरुङ, नेपाल पत्रकार महासंघ यूकेको तर्फबाट विपिन निरौला, किरात राई यायोक्खा यूके अध्यक्ष कल्पना राई, मगर संघ यूके अध्यक्ष सुनिल राना, जन प्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतम, तमुप्ये ल्हु संघ युके का अध्यक्ष रण बहादुर गुरुङ, पाल्पाली भन्ज्याङका अध्यक्ष वाचस्पति रेग्मी लगायत दर्जनौं संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले एनआरएनए यूकेलाई नयाँ गति दिन प्रेम गाहा मगरको नेतृत्व आवश्यक रहेको बताए ।
त्यस्तै, एनआरएनए अमेरिकाका युवा संयोजक त्रिभुवन पाण्डे, एनआरएनए युरोपका क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र आइसीसीका मानार्थ सदस्य रण केसीले निस्वार्थ भावले काम गर्ने गरी अगाडि बढ्न सुझाबदिएका थिएका थिए ।
विभिन्न पदमा उम्मेदवारी घोषणा
सोही समारोहमा एनआरएन, एनसीसी यूकेका लागि विभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणागरेका थिए । उपाध्यक्ष पदमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।







