महिला सशक्तीकरण र सहभागिताका लागि महिला संयोजकमा विमला लिम्बुको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतमा महिलाहरुको सहभागिता र नेतृत्व निमार्णका लागि सामाजिक अभियान्ता विमला लिम्बुले महिला संयोजकमा उम्मेदवारी दिएकी छिन ।

 

संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको विकासका लागि गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि महिला संयोजकमा विमला लिम्बुले उम्मेदवारी दिएकी हुन । महिला संयोजक उम्मेदवार रहेकी सामाजिक अभियन्ता विमला लिम्बुले महिला सहभागिता र सशक्तीकरणको मुद्दालाई अघि सार्दै चुनावी अभियानमा होमिएकी छन् ।

 

‘अझै पनि एनआरएनमा महिलाहरुको उपस्थिति न्यून नै छ, महिलाहरुको उचित सहभागिता विना संस्था पूर्ण बन्न सक्दैन’ उनले भनिन्, ‘सामाजिक संस्थालाई सही रुपमा परिचालन गर्न महिलाहरुको सहभागिता बढाउन आवश्यक छ।’

 

महिलाहरुको सहभागिताले मात्रै पनि नपुग्ने र नेतृत्वमा नै स्थापित गर्नुपर्ने उनको मान्यता छ । तर, सहभागिता वृद्धि नगरी नेतृत्व स्थापित हुन मुस्किल हुने उनको बुझाइ छ । ‘सहभागिता बढाउन सकियो भने महिलाहरुलाई नेतृत्वमा पुग्नबाट कसैले रोक्न सक्दैन,’ उनी भन्छिन् ।

 

सामाजिक रुपमा महिलाहरुलाई सशक्तीकरणको खाँचो पनि रहेको उनले बताइन् । ’आफ्नो घरधन्दा र जीविकोपार्जनमा मात्रै सक्रिय महिलाहरुलाई सामाजिक संघ संस्थामा स्थापित गर्न सशक्तीकरण गर्नु जरुरी छ,’ उनले भनिन् ।

 

’मेरो मुख्य अजेण्डा नै महिलाहरुको सहभागिता बढाउने र सशक्तीकरण गर्ने हो,’ उनले भनिन, ’यो भएन भने एनआरएनए साँचो अर्थमा साझा संस्था बन्न सक्दैन ।’

 

महिला संयोजक उम्मेदवार लिम्बुले संस्थाको पारदर्शिता, सुदृढीकरण र गोर्खा मुद्दा लगायतका विषयमा प्रेम गाहा मगरले अघि सारेका अजेण्डामा आफ्नो सहमति जनाइन् । अजेण्डामा एकमत भएमा पछि कार्यान्वयनमा पनि सहज हुने उनको भनाइ छ ।

 

सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय लिम्बुले यसअघि नै एनसीसी कार्य समिति र कार्य समिति बाहिरै रहेर विभिन्न काम गरिसकेकी छन् ।

 

सोह्र, सत्र वर्ष लामो बेलायत बसाइका क्रममा उनी एनआरएन बाहेक अन्य विभिन्न सामाजिक संस्थाहरु मार्फत पनि समाजिक काममा उत्तिकै सक्रिय छिन् ।

नेपाल पाँचथरकी बिमला नेपालमा हुँदादेखि नै संगठित हुने र संस्थामार्फत काम गर्ने प्रक्रियामा अभ्यस्त थिइन् । धरानस्थित हात्तिसार क्याम्पसमा स्ववियु कोषाध्यक्ष बनेकी उनी काठमाडौंको त्रिचन्द्र क्याम्पसमा अध्ययन गरिरहदा लिम्बु विद्यार्थी समाजमा सक्रिय थिइन् ।

 

सामाजिक काममा सक्रिय

अध्ययनकै सिलसिलामा हङकङ हुँदै लण्डन पुगेकी बिमला विभिन्न संस्थाहरुमार्फत सामाजिक काममा सक्रिय भइन् ।

२०१५–२०१७ मा एनसीसीको च्यारिटी विभागमा रहेर काम गरेकी लिम्बूले २०१७–२०१९ मा कार्य समिति सदस्य नै भएर काम गरिन् । सन् २०१९–२०२१ का लागि महिला उपाध्यक्षको उम्मेदवार रहेकोमा चुनावी नतिजा उनको पक्षमा आउन सकेन ।

‘चुनावमा जित हार त भइहाल्छ तर, आफ्नो अजेण्डा स्थापित गर्न निरन्तर लागिरहनु पर्छ,’ उनले भनिन्, ‘तिनै अजेण्डा कार्यान्वयनमा लैजान म यसपाली महिला संयोजकको उम्मेदवार बनेकी हुँ ।’

आफ्नै व्यवसाय सन्चालन गरेर परिवारैसहित लण्डन बस्दै आएकी बिमला समस्यामा परेका नेपालीहरुको सहयोगका लागि निरन्तर सक्रिय छन् । बेलायतमा रहेका नेपालीहरुलाई सघाउन होस् वा मातृभूमिमा सहयोग पठाउने काममा उनले निरन्तर योगदान दिइरहेकी छन् ।

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्पले निम्त्याएको विपत्तिपछि एनआरएन र अन्य सामाजिक संस्थाहरुबाट आर्थिक संकलन गरी नेपाल पठाउन उनी लागिपरेकी थिइन् ।

त्यस्तै, सन् २०१९ को अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीबाट प्रभावित नेपालीहरुको सहयोगका लागि पनि उनी लागिपरिन् । पछिल्लो पटक एनसीसी यूकेमार्फत नेपाल पठाइएको स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग संकलनमा पनि उनको उत्तिकै सहभागिता रहेको थियो ।

सामाजिक काममा निरन्तर सहभागिताका कारण बेलायतवासी नेपालीहरुको साथ र सहयोग प्राप्त हुने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार