
भोजपुर । कला र प्रतिभाको माध्यमबाट नयाँ आयाम दिने प्रयास गरिरहेको डायमण्ड डान्स सेन्टर भोजपुरले सामाजिक अभियानमा पनि हात बढाउन थालेको छ । ग्रुपद्वारा भोजपुरको ऐतिहासिक शहिद पार्कको सरसफाईमा देखाएको उदाहरणीय सामाजिक कार्यबाट अभियानको सुरुवात भएको छ ।
ग्रुपले शनिबारबाट भोजपुर नगरपालिका ९, टुँडिखेल छेउमा स्थिती ऐतिहासिक पार्कको सरसफाईलाई निरन्तरता दिने अभियान गरेको छ । ऐतिहासिक महत्व झल्काउने नगरी पार्कलाई कुरुप हुन नदिने अभियानमा सिंगो ग्रुप लागिपरेको डायमण्ड डान्स सेन्टरका प्रशिक्षक सुसन घिमिरेले बताए ।
‘नयाँ पिँढीलाई कला र अभ्यास मात्र हैन, सामाजिक कार्यमा पनि अभ्यास गराउन अभिप्रेरितगरेका छौँ’ उनले भने, ‘यस अभियानबाट नयाँपुस्तामा सकरात्मक विचार र उर्जा मात्रै हैन ऐतिहासिक पार्कको सम्बद्र्धनमा पनि टेवा मिल्नेछ’
अभियानलाई निरन्तरता दिईने बताउँदै सेन्टरका संस्थापक निमाराज तामाङले प्रतिभाको निखारता संगै सिकारुमा सामाजिक सकरात्मक सुविचारको पनि उजागर हुने बताए । पार्क सरसफाईमा जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि आवश्यक सामाग्री उपलब्ध गराएको थियो ।







