
भोजपुर । भोजपुरका केहि युवा समाजसेवीले बहिरा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय विद्यालयका फरक क्षमताका विद्यार्थीलाई युवा अगुवा स्थानीय विमल रणपहेँली, दुर्गा योञ्जन र सुसन घिमीरे सामाग्री वितरण गरेका हुन् ।
दशैँतिहारको शुभकामनासहित विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समाजसेवी विमल रणपहेँलीले बताए । कोभिड १९ का कारण नियमित पठनपाठनमा समस्या थपिएकाले शैक्षिक सामाग्री अभाव खेपिरहेका विद्यार्थीलाई केहि सहयोग मिलोस् भन्ने उद्देश्यले वितरण गरिएको उनले बताए ।
विद्यालयका करिब डेढ दर्जन फरक क्षमताका विद्यार्थीलाई २ सय ४० थान बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । दशैँतिहारपछि पठनपाठनमा पनि शैक्षिक सामाग्री कम होस् भन्ने आशयले सहयोग प्रदान गरेको अर्का युवा अगुवा दुर्गा योञ्जनको भनाई छ ।
परोपकारी सामाजिक कार्यमा हात बढाउन सहयोग पु¥याउने उद्देश्यले यस अभियानलाई निरन्तरता दिएको डायमण्ड डान्स सेन्टर भोजपुरका प्रमुख समेत रहेका अर्का समाजसेवी सुसन घिमिरेले बताए । उनका अनुसार आगामी दिनमा पनि अन्य सामुदायिक विद्यालयमा पनि सहयोग वितरण गर्ने तयारी रहेको छ ।







