
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई विदाई गरेको छ । अल्डरसटस्थित गेसोको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो ।
बिदाईकै क्रममा गेसोका सभापति तथा वार्ताका लागी गोरखाहरुको तर्फबाट गठित निर्देशक कमिटिका सदस्य कृष्ण कुमार राईले वार्ताको बारे जिज्ञासा राखेका थिए ।
सभापति राईको जिज्ञासाको जवाफमा राजदूत रेग्मीले भने, वार्ताको लागि गठन भएको निर्देशक कमिटि नै वार्ताको सर्बोच्च निकाय हो । यसबाट कोहि पनि दाहिने–बाँया हुन पाउदैन । साथै हुनु पनि हुँदैन । सबैले एकतालाई स्वीकार गरीसकेकोले सबै कुरा सकरात्मक हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
गत असोज ४ गते बसेको मन्त्रीपरिषदको बैठकले ओली सरकाले राजनीतिक नियुक्त गरेका विभिन्न १२ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै बेलायतका लागि नेपाली राजदूत रेग्मी पनि फिर्ता हुने भएका हुन् ।
राजदूत रेग्मीको सक्रियतामा बेलायतका रक्षा मन्त्री र रक्षा राज्यमन्त्री नेपाली दूतवास लण्डनमा गई नेपाल र बेलायत सरकारबीच हुने वार्ताको सम्पूर्ण तयारी गरिसकेकाले गेसोले नेपाल सरकार तथा परराष्ट्र मन्त्री समेतलाई राजदूत रेग्मीलाई नै वार्ता अवधिसम्म निरन्तरता दिनुपर्ने मागसहित ज्ञापनपत्र लेखेको थियो ।









