
‘खोर्सानी डल्ले’ को अपार सफलतापछि लोकप्रिय गायक भिषण मुकारुङको ‘ए…सिम्मा, खोर्सानी डल्ले २’ रिलिज भएको छ । आफ्नो खुर्सानी डल्लेको सिक्वेलको रुपमा मुकारुङको ए सिम्मा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
४० लाख बढी दर्शकले रुचाएको खुर्सानी डल्लेको अर्को कोशेली स्वरुप मुकारुङले ए सिम्मा….खुर्सानी डल्ले २ दर्शकमाझ ल्याएका हुन् । उक्त म्यूजिक भिडियोमा गायक भिषण मुकारुङ, विल्सन विक्रम राई ‘तक्मे बूढा’, रजनी गुरुङ, विशाल गुरुङ र श्याम राईले अभिनय दिएका छन् ।
दुर्लभ जन्तरेको शब्द र विशेष खालिङको संगीत रहेको गितको म्यूजिक भिडियो हाँस्य कलाकार विल्सन विक्रम राईको अफिसियल युट्युब च्यानल ‘तक्मेबूढा डटकम’ बाट बिहीबार मात्रै सार्वजनिक गरिएको थियो । दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएर संगीत क्षेत्रमा क्रियाशील भिषण मुकारुङको आफ्नो एकल स्वर दिएका छन् ।
ए सिम्मा…. बोलको उक्त म्यूजिक भिडियोमा पूर्वेली लोकभाकाका साथै किँरात राई समुदायको संस्कृतिको मिश्रण स्वाद पस्किएको छ । कोरोनाका कारण सिक्वेल रिलिज गर्न ढिलाई भएको गायक तथा संगीतकार मुकारुङले प्रतिक्रिया दिए । ‘ए…सिम्मा’ मा पूर्वेली लोकभाकासँगै किरात राई समुदायको संस्कृति र मिथक प्रयोग गरिएको उनले बताए । ‘गीतको अन्तरामा राईहरू समुदायको नाक्छुङ (पुजारी) प्रसिद्ध धार्मिकस्थल भोजपुरको साल्पा पुग्दा मन्त्र फलाक्दै बजाउने ढ्याङग्रोको ताल रिदमलाई आधार मानेर गीतमा समावेश गरिएको छ, कुनै पनि गीत संगीतमा यस्तो किसिमको प्रयोग यो पहिलो हो’ गायक मुकारुङले भने ।
२०७६ को २१ औँ टुबोर्ग ईमेज अवार्डमा मुकारुङले खुर्सानी डल्ले गितमा उत्कृष्ट लोकगायनको उपाधि हात पारेका थिए । मुकारुङको आफ्नै रेकर्डिङ पृथक स्टुडियो गीतको कम्पोज गरिएको हो । अहिले विल्सन विक्रम राईसँगको सहकार्यमा उनी ‘खुर्सानी डल्ले ३’ बनाउन लागिपरेका छन् ।







