
विराटनगर : यतिबेला प्रदेश १ मा सरकार परिवर्तन हुने नहुनेमा अलमल परेको छ । पाँचदलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र ’चलखेल’ भएको आशंकाले गर्दा प्रदेश सरकार परिवर्तनमा ‘उल्झन’ भएको हो ।
प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक कात्तिक ७ गते आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि छलफल हुने र सोही दिन मत विभाजन हुने गरी बैठक आह्वान गरिएको थियो ।
तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेको बैठकको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा कात्तिक १५ गतेसम्म बैठक स्थगित गरियो ।
बैठक यसअघि तय भएको कार्यसूचीअनुसार आइतबार बसेको भए एमालेबाट संसद्मा अल्पमत भएपनि मुख्यमन्त्री बनेका आचार्य पदमुक्त हुने अवस्था थियो ।
तर, यसअघि संविधानको गलत व्याख्या गरेर आयु लम्ब्याएको आरोप खेपेका उनलाई विपक्षी दल कांग्रेसले थप एक साता मुख्यमन्त्री बन्ने अवसर जुटाईदियो ।
केन्द्रबाट आएको निर्देशनअनुसार अघि बढेको बताउने कांग्रेसका केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई मत दिने सुइँको पाएपछि कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वाञ्चल भ्रमणको कारण देखाउँदै प्रदेशसभा बैठकको मिति सार्न सभामुखसमक्ष माग गरेको कांग्रेसकै सांसदको अभिव्यक्ति थियो ।
कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बागमती प्रदेश र प्रदेश १ मा गठबन्धनबीच एउटै मापदण्ड लागू हुनुपर्ने आफ्नो दलको मान्यता रहेको बताएका थिए ।
बागमतीमा आधाआधा कार्यकाल मुख्यमन्त्री हुने सहमति भएकाले प्रदेश १ मा पनि त्यस्तै सहमति हुनुपर्ने विषय दलमा उठेको उनले पत्रकारसँग अभिव्यक्ति दिए ।
पत्रकारसँग उनले त्यसो भने पनि अन्तर्यमा आफ्नो दलभित्र सांसदहरूबीच ’चलखेल’ भएको आशंकाबारे केही बताएका छैन ।







