
स्कटल्याण्ड– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीवीच मंगलवार द्विपक्षीय भेटवार्ता हुने भएका छन ।
ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका देउवा र मोदीवीच भेटवार्ता हुने भएका हुन् ।
देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक मोदीसंग भेटवार्ता हुन लागेका छन । नेपालका प्रधानमन्त्रीहरु शुरुमा भारत भ्रमण गर्ने प्रचलन भएपनि देउवा प्रधानमन्त्री भएपछि हालसम्म भारत भ्रमण गरेका छैन । सोही दिन प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने छन् ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति लन्डन आएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लन्डनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गरेका थिए । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।







